२१ चैत, काठमाडौँ । प्रतिनिधि सभाको रिक्त उपसभामुख पदका लागि श्रम संस्कृति पार्टीले आफ्नो उम्मेदवार खडा गर्ने घोषणा गरेको छ । पार्टीका अध्यक्ष हर्क साम्पाङले शनिबार बिहान सामाजिक सञ्जालमार्फत उपसभामुख पदका लागि आफ्नो पार्टीका तर्फबाट महिला उम्मेदवार उठाउने जानकारी दिएका हुन् ।
सभामुख पदमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डोलप्रसाद (डीपी) अर्याल शुक्रबार निर्विरोध निर्वाचित भइसकेपछि अब उपसभामुख चयनको प्रक्रिया सुरु भएको छ । अध्यक्ष साम्पाङले नयाँ शक्तिहरूले कसलाई साथ दिन्छन् भन्ने चासो व्यक्त गर्दै लेखेका छन्, “हामी महिला उम्मेदवार खडा गर्दै छौँ। हेरौँ नयाँले नयाँलाई भोट हाल्छ कि उही पुरानालाई? ७ भोट आउँछ कि १८९?”
सभामुख पद सत्तापक्षको पोल्टामा गएपछि संवैधानिक प्रावधानअनुसार उपसभामुख पद प्रतिपक्षले पाउने व्यवस्था छ । सोही अनुसार आगामी चैत २२ गते हुने निर्वाचनका लागि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, श्रम संस्कृति पार्टी र नेपाल कम्युनिस्ट पार्टीले आफ्नो दाबी प्रस्तुत गरिरहेका छन् ।
संविधानको भावना अनुसार सभामुख र उपसभामुख फरक दल र फरक लिङ्गको हुनुपर्ने व्यवस्थालाई मध्यनजर गर्दै श्रम संस्कृति पार्टीले महिला उम्मेदवार अघि सार्ने तयारी गरेको हो ।
यता, सत्ता साझेदार दल रास्वपाका सभापति रवि लामिछानेले उपसभामुख पद कुन दललाई दिने भन्ने विषयमा राजनीतिक वृत्तमा छलफल जारी रहेको बताएका छन् । सभामुखमा अर्यालको एकल उम्मेदवारी परेपछि उनी निर्विरोध भएका थिए, तर उपसभामुखमा भने बहुपक्षीय प्रतिस्पर्धा हुने देखिएको छ ।

















