२१ चैत, काठमाडौं । नेपाली कांग्रेसले आज (शनिबार) देखि १५औं महाधिवेशनको प्रक्रिया औपचारिक रूपमा सुरु गर्ने भएको छ।
पछिल्लो केन्द्रीय कार्यसमिति बैठकको निर्णयअनुसार कांग्रेसले महाधिवेशनको तयारीलाई तीव्रता दिन लागेको हो। १०–११ चैतमा बसेको बैठकले आगामी असोज १६ देखि १९ गतेसम्म १५औं महाधिवेशन सम्पन्न गर्ने कार्यतालिका पारित गरेको थियो।
कार्यतालिकाअनुसार आजदेखि मसान्तसम्म केन्द्रबाट सदस्यता फारम वडा तहसम्म पठाइनेछ भने १६५ वटै निर्वाचन क्षेत्रमा सदस्यता वितरणका लागि प्रतिनिधिहरू खटाइने छन्।
यसै क्रममा कांग्रेसले प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा खटिने प्रतिनिधिहरूलाई आज सानेपामा ‘ओरिएन्टेसन’ कार्यक्रम आयोजना गरेको छ। कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार दिउँसो २ बजे हुने उक्त कार्यक्रममा सहभागी प्रतिनिधिहरूको नाम ओरिएन्टेसनपछि सार्वजनिक गरिनेछ।
कांग्रेसले सदस्यता वितरण र अद्यावधिकका लागि १ वैशाखदेखि मसान्तसम्म देशभर एक महिने अभियान सञ्चालन गर्ने जनाएको छ। वडास्तरबाट संकलित क्रियाशील सदस्यता १५ जेठभित्र प्रतिनिधिसभा क्षेत्र र जिल्लामा पठाइसक्नुपर्नेछ भने २५ जेठसम्म केन्द्रमा ‘इन्ट्री’ गरिसक्ने कार्यतालिका तय गरिएको छ।
केन्द्रले सदस्यतामाथि आवश्यक छानबिन गरी १५ असारसम्म अन्तिम टुंगो लगाउनेछ। त्यसपछि असार मसान्तसम्म अद्यावधिक सदस्यहरूको नामावली केन्द्रीय निर्वाचन समितिलाई बुझाउने योजना कांग्रेसको छ।
महाधिवेशनको तयारीसँगै कांग्रेसले संगठन सुदृढीकरण र सदस्यता विस्तारलाई प्राथमिकतामा राखेको छ।

















