२१ चैत, काठमाडौं । संयुक्त अरब इमिरेट्सको अबुधाबीमा ड्रोनका अवशेष खस्दा घाइते भएका नेपालीहरूको अवस्थाबारे जानकारी लिन त्यहाँस्थित नेपाली दूतावासले पहल थालेको छ।
दूतावासले घाइतेहरूको विवरण र स्वास्थ्य अवस्थाबारे स्पष्ट जानकारी माग्दै यूएईको विदेश मन्त्रालयलाई औपचारिक पत्र पठाएको जनाएको छ।
यूएईका लागि नेपाली राजदूत तेजबहादुर क्षेत्रीका अनुसार घटनाबारे औपचारिक जानकारी अहिलेसम्म प्राप्त भइसकेको छैन। उनले सरकारी सञ्चारमाध्यममार्फत ७ जना नेपाली घाइते भएको खबर आएपछि दूतावासले चासो लिएको बताए।
राजदूत क्षेत्रीले भने, “हामीले यहाँको सरकारी मिडियाबाट जानकारी पाएपछि के भएको हो र घाइतेहरूको अवस्था कस्तो छ भन्नेबारे विवरण माग्दै विदेश मन्त्रालयलाई पत्र पठाएका छौं।” उनले सोमबारसम्ममा यसबारे थप जानकारी प्राप्त हुन सक्ने उल्लेख गरे।
गत शुक्रबार अबुधाबीको अजबान क्षेत्रमा इरानबाट प्रहार गरिएको ड्रोनलाई वायु रक्षा प्रणालीले अवरोध गर्दा त्यसका भग्नावशेष खस्दा ७ नेपालीसहित १२ जना घाइते भएका थिए। घाइतेमध्ये एक नेपालीको अवस्था गम्भीर रहेको बताइएको छ।
घटनापछि स्थानीय अधिकारीहरूले आपतकालीन टोली परिचालन गरी प्रभावित क्षेत्र सुरक्षित बनाउनुका साथै घाइतेहरूलाई तत्काल उपचारको व्यवस्था गरेका थिए।
यसअघि पनि यूएईमा यस्तै अवरोधका क्रममा क्षेप्यास्त्रका अवशेष खस्दा पूर्वाधारमा क्षति पुगेका घटनाहरू सार्वजनिक भएका थिए। पछिल्ला घटनाले क्षेत्रीय सुरक्षा चुनौतीप्रति थप चिन्ता बढाएको छ।

















