Logo

२१ चैत,काठमाडौं ।नेपाली कांग्रेसले १५औं महाधिवेशनको तयारीलाई तीव्रता दिँदै ७७ वटै जिल्लामा खटिने केन्द्रीय प्रतिनिधिहरूसँग अन्तरसंवाद गरेको छ। शनिबार सानेपास्थित केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा प्रतिनिधिहरूलाई जिल्लामा निर्वाह गर्नुपर्ने जिम्मेवारीबारे जानकारी गराइएको हो।

महामन्त्री प्रदीप पौडेलका अनुसार प्रतिनिधिहरूले वैशाख महिनाभर जिल्लामा बसेर सदस्यता वितरण अभियानलाई व्यवस्थित गर्ने, पुराना सदस्यताको अद्यावधिक गर्ने र नयाँ सदस्यता वितरणलाई विधानअनुसार लागू गर्ने जिम्मेवारी पाएका छन्।

कांग्रेसले १ वैशाखदेखि महिनाभर देशभरका वडास्तरमा क्रियाशील सदस्यता वितरण तथा अद्यावधिक गर्ने कार्यतालिका तय गरेको छ। एक महिने अभियानपछि वडाबाट संकलित सदस्यता १५ जेठभित्र प्रतिनिधिसभा क्षेत्र र जिल्लामा पठाइसक्नुपर्नेछ भने जिल्लाबाट ‘इन्ट्री’ गरी २५ जेठसम्म केन्द्रमा पठाउने व्यवस्था गरिएको छ।

केन्द्रले सदस्यतामाथि आवश्यक छानबिन गरी १५ असारसम्म अन्तिम टुंगो लगाउने र असार मसान्तसम्म अद्यावधिक सदस्यहरूको नामावली केन्द्रीय निर्वाचन समितिलाई बुझाउने कार्यतालिका छ।

यसअघि १०–११ चैतमा बसेको केन्द्रीय कार्यसमिति बैठकले आगामी असोज १६ देखि १९ गतेसम्म १५औं महाधिवेशन सम्पन्न गर्ने निर्णय गरेको थियो। सोहीअनुसार २१ चैतदेखि मसान्तसम्म सदस्यता फारम वडा तहसम्म पठाउने र १६५ निर्वाचन क्षेत्रमा प्रतिनिधि खटाउने योजना अघि बढाइएको छ।


सम्बन्धित समाचार