Logo

२१ चैत,काठमाडौं । पोखरा महानगरपालिका ले फेवाताल आसपास मापदण्ड विपरीत निर्माण गरिएका बाँकी संरचनाहरू हटाउन १५ दिने अल्टिमेटम जारी गरेको छ। शनिबार जारी सूचनामा महानगरले सीमाङ्कनपछि निर्माण गरिएका सबै अनधिकृत संरचनाहरू तोकिएको समयभित्र हटाउन निर्देशन दिएको हो।

महानगरले सर्वोच्च अदालत को फैसला कार्यान्वयनका क्रममा प्रहरी परिचालन गरी करिब ३० वटा अस्थायी संरचनामा डोजर चलाइसकेको जनाएको छ।

सूचनाअनुसार तालको सीमाङ्कन सम्पन्न भइसकेपछि पनि जल सतहको उच्चतम बिन्दुबाट ६५ मिटरभित्र पर्ने क्षेत्रमा रातारात नयाँ संरचना निर्माण गरिएको पाइएको छ। यसप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै महानगरले यस्ता सबै संरचना १५ दिनभित्र हटाउन सम्बन्धित पक्षलाई सचेत गराएको छ।

तोकिएको समयसीमाभित्र संरचना नहटाइएमा महानगरले आफैं हटाउने र सो क्रममा लाग्ने सम्पूर्ण खर्च सम्बन्धित व्यक्ति वा संस्थाबाट सरकारी बाँकी सरह असुल गरिने चेतावनी दिइएको छ।

यसअघि गण्डकी प्रदेश सरकारनेपाल सरकार सँगको सहकार्यमा फेवातालको उच्चतम जल सतह पहिचान गरी सीमाङ्कनको काम सम्पन्न भइसकेको छ। हाल ६५ मिटरभित्र पर्ने जग्गाको वर्गीकरण, मुआब्जा निर्धारण तथा बदर हुने कित्ताहरूको अन्तिम टुंगो लगाउने प्रक्रिया अन्तिम चरणमा पुगेको जनाइएको छ।


सम्बन्धित समाचार