२२ चैत, काठमाडौं । विद्यालय शिक्षाको शैक्षिक क्यालेन्डरलाई थप व्यवस्थित बनाउने उद्देश्यका साथ सरकारले आगामी शैक्षिक सत्र २०८३ को प्रारम्भ वैशाख १५ गतेबाट गर्ने महत्वपूर्ण निर्णय गरेको छ ।
आइतबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले विद्यार्थी भर्ना, पाठ्यपुस्तक वितरण र कक्षा सञ्चालनलाई प्रभावकारी बनाउन भन्दै नयाँ मिति तय गरेको हो । सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलका अनुसार नयाँ शैक्षिक सत्रको सुरुवात र व्यवस्थापनका लागि यो समयतालिका सबै विद्यालय र शैक्षिक संस्थाहरूमा अनिवार्य रूपमा लागू हुनेछ ।
विगतका वर्षहरूमा वैशाखको सुरुवातमै शैक्षिक सत्र सुरु हुँदा भर्ना अभियान र पाठ्यपुस्तक पुर्याउन केही प्राविधिक कठिनाइ हुने गरेकोमा यसपटक १५ दिनको थप समयले तयारीलाई पूर्णता दिने विश्वास सरकारले लिएको छ। मन्त्रिपरिषद्को यो निर्णयसँगै देशभरका प्रारम्भिकदेखि माध्यमिक तहसम्मका विद्यालयहरूले आफ्नो वार्षिक कार्ययोजना सोही मिति अनुसार परिमार्जन गर्नुपर्नेछ। विशेष गरी हिमाली र दुर्गम जिल्लाहरूमा पाठ्यपुस्तक समयमै पुर्याउन र विद्यार्थीहरूलाई विद्यालयको पहुँचमा ल्याउन यो नयाँ तालिका फलदायी हुने अपेक्षा गरिएको छ।
सरकारले लिएको यस निर्णयले शिक्षक, विद्यार्थी र अभिभावकहरूलाई नयाँ सत्रको तयारीका लागि पर्याप्त समय उपलब्ध गराउनेछ। संसद्को नयाँ समीकरण र सरकारको १०० बुँदे शासकीय सुधारको कार्यसूचीअनुसार शिक्षा क्षेत्रमा आमूल परिवर्तन ल्याउन खोजिएको सन्दर्भमा यो निर्णयलाई एउटा प्रशासनिक सुधारको रूपमा हेरिएको छ ।
अबको केही दिनमा शिक्षा मन्त्रालयले यससम्बन्धी विस्तृत निर्देशिका जारी गरी भर्ना अभियान र शैक्षिक गतिविधिलाई कसरी अघि बढाउने भन्नेबारे प्रष्ट पार्ने तयारी गरेको छ ।

















