Logo

२२ चैत,लुम्बिनी । नेपाली सेना का प्रधानसेनापति अशोकराज सिग्देलले नेपाली सेनाले देशको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता र राष्ट्रिय एकताको रक्षा गर्दै ऐतिहासिक रूपमा अतुलनीय योगदान पुर्‍याउँदै आएको बताएका छन्।

बुटवल स्थित मध्य पश्चिम मुख्यालयमा आयोजित भूतपूर्व सैनिक सम्मेलनको उद्घाटन गर्दै उनले सेनालाई वर्तमान र भविष्यका चुनौती सामना गर्न सक्षम संस्थाका रूपमा अझ सुदृढ बनाउँदै भावी पुस्तामा हस्तान्तरण गर्नु सबैको साझा दायित्व भएको उल्लेख गरे।

प्रधानसेनापति सिग्देलले देशको सार्वभौमिकताको रक्षासँगै आन्तरिक सुरक्षा, विकास निर्माण, विपद् व्यवस्थापन तथा अन्तर्राष्ट्रिय शान्ति स्थापना अभियानमा सेनाले खेलेको भूमिकाले नेपाली सेना लाई स्वदेश तथा विदेशमा एक विश्वसनीय र सम्मानित संस्थाका रूपमा स्थापित गरेको बताए।

उनले हालै सम्पन्न निर्वाचनलाई सुरक्षित र भयरहित वातावरणमा सम्पन्न गराउन सेनाले देखाएको उच्च पेशागत दक्षता, व्यावसायिकता र कार्यकुशलताको व्यापक प्रशंसा भएको दाबी गरे।

“हाम्रा वीर पुर्खाहरूको त्याग, तपस्या, बलिदान र राष्ट्रभक्तिले गौरवपूर्ण इतिहास निर्माण गरेको छ,” उनले भने, “सैनिक अनुशासन, चेन अफ कमान्ड, अराजनीतिक चरित्र र संगठनात्मक एकताले सेनाको पहिचानलाई अझ सुदृढ बनाएको छ।”

यसैगरी, नेपाली सेना कल्याणकारी बोर्ड मार्फत देशभरका हिताधिकारीहरूलाई एउटै सञ्जालमा आबद्ध गर्ने अभियान तीव्र बनाइएको जानकारी दिँदै उनले उक्त सञ्जाललाई वडा तहसम्म विस्तार गर्ने योजना अघि बढाइएको बताए।

उनले भूतपूर्व सैनिक तथा हिताधिकारीहरूको हित संरक्षण र सशक्तीकरणका लागि विभिन्न कार्यक्रमहरू प्रभावकारी रूपमा सञ्चालन भइरहेको पनि जानकारी दिए।


सम्बन्धित समाचार