Logo

२३ चैत, काठमाडौं । जेन–जी आन्दोलन छानबिन आयोगको प्रतिवेदनका आधारमा पक्राउ परेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको बन्दी प्रत्यक्षीकरण निवेदनमाथि आज पनि सर्वोच्च अदालतमा निर्णायक सुनुवाइ हुँदैछ ।

न्यायाधीशद्वय विनोद शर्मा र सुनिलकुमार पोखरेलको संयुक्त इजलासमा आइतबारदेखि सुरु भएको यो बहसले आज पनि निरन्तरता पाउने भएको हो । हिजो वरिष्ठ अधिवक्ताद्वय टीकाराम भट्टराई र चन्द्रकान्त ज्ञवालीले निवेदकका तर्फबाट बहस गरिसकेका छन् भने आज बाँकी रहेका कानुन व्यवसायीहरूले आफ्नो तर्क प्रस्तुत गर्नेछन् ।

निवेदक पक्षको बहस सकिएलगत्तै सरकारी पक्षबाट नायब महान्यायाधिवक्ता सञ्जीवराज रेग्मी नेतृत्वको टोलीले जवाफी बहस गर्ने तयारी गरेको छ, जसपश्चात् अदालतले उनीहरूको रिहाइ वा थुना निरन्तरताबारे अन्तिम निर्णय सुनाउनेछ ।

यसअघि जिल्ला अदालत काठमाडौंले अनुसन्धानका लागि उनीहरूलाई पाँच दिनको म्याद थप गरिसकेको छ भने सर्वोच्चले यो विषयलाई उच्च प्राथमिकतामा राखेर सुनुवाइ गरिरहेको छ ।

गौरीबहादुर कार्की नेतृत्वको आयोगले उनीहरूलाई मुलुकी अपराध संहिताको दफा १८१ र १८२ अन्तर्गत ‘लापर्बाहीपूर्ण र हेलचेक्र्याइँपूर्ण कार्य गरी ज्यान मारेको’ कसुरमा कारबाही गर्न सिफारिस गरेपछि यो मुद्दाले गम्भीर मोड लिएको हो ।

यदि सर्वोच्चले बन्दी प्रत्यक्षीकरणको रिट जारी गरेमा दुवै नेता तत्काल थुनामुक्त हुनेछन्, अन्यथा उनीहरूले केही समय हिरासतभित्रै बिताउनुपर्ने कानुनी प्रावधान छ । आजको बहस र त्यसपछिको अदालती निर्णयलाई राजनीतिक र कानुनी दुवै क्षेत्रले निकै चासोका साथ हेरिरहेका छन् ।


सम्बन्धित समाचार