Logo

 २३ चैत,काठमाडौं । कपिलवस्तुको महाराजगन्ज नगरपालिका–२ बरगदामा चैत ७ गते दुई धर्म समुदायबीच भएको झडपका क्रममा प्रहरीको गोली लागेर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु भएपछि उनलाई शहीद घोषणा गर्न माग गरिएको छ।

झडपका क्रममा पेटमा गोली लागेर गम्भीर घाइते भएका महाराजगन्ज नगरपालिका–भुटहनियाका २२ वर्षीय जितेन्द्र यादवको चितवन मेडिकल कलेजमा उपचारका क्रममा सोमबार बिहान मृत्यु भएको हो।

उनको मृत्युपछि हिन्दुवादी संगठन राष्ट्रिय एकता दलले विज्ञप्ति जारी गर्दै यादवलाई शहीद घोषणा गर्न सरकारसँग माग गरेको छ।

संगठनका अध्यक्ष विनय यादवद्वारा जारी विज्ञप्तिमा मृतकलाई तत्काल शहीद घोषणा गर्न, परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन तथा जीवनभरि पालनपोषणको व्यवस्था गर्न माग गरिएको छ। साथै, घटनामा संलग्न प्रहरीमाथि निष्पक्ष छानबिन गरी कारबाही गर्न र धार्मिक आस्थामाथि आक्रमण गर्ने दोषीहरूलाई पक्राउ गर्न पनि आग्रह गरिएको छ।

विज्ञप्तिमा देशभर धार्मिक सद्भाव कायम गर्न प्रभावकारी कदम चाल्न सरकारलाई अनुरोध गरिएको छ। अध्यक्ष यादवले शान्तिपूर्ण आन्दोलनमा सहभागी नागरिकमाथि गोली प्रहार हुनु लोकतान्त्रिक मूल्य–मान्यताको ठाडो उल्लंघन भएको भन्दै उक्त घटनाको कडा शब्दमा भत्र्सना गरेका छन्।

घटनापछि क्षेत्रमा तनाव बढेको छ भने स्थानीय प्रशासनले शान्ति सुरक्षा कायम गर्न थप सतर्कता अपनाएको जनाएको छ।


सम्बन्धित समाचार