२४ चैत,काठमाडौं । दूरसञ्चार सेवाको गुणस्तरबारे निरन्तर उठिरहेका गुनासाहरूलाई सम्बोधन गर्न नेपाल टेलिकमले सुधारका ठोस पहल सुरु गरेको छ। सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाको निर्देशनपछि कम्पनीले सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउन विभिन्न कदम अघि बढाएको हो।
ग्राहक सेवा सुधार, मोबाइल डेटा व्यवस्थापन, डिजिटल सेवा विस्तार तथा प्रशासनिक प्रक्रिया सरल बनाउने लक्ष्यसहित व्यापक रूपान्तरण प्रक्रिया अघि बढाइएको छ। सञ्चार मन्त्रालयले ‘नतिजामा आधारित शासकीय व्यवस्थापन प्रणाली’ लागू गर्ने उद्देश्यले १० बुँदे कार्ययोजना सार्वजनिक गरेको छ, जसमा नेपाल टेलिकमको सेवा सुधारलाई प्राथमिकता दिइएको छ।
यस योजनाअनुसार ग्राहक सेवालाई सहज, पारदर्शी र प्रविधिमैत्री बनाइनेछ। विगतमा सेवा अवरोध, ढिलो प्रतिक्रिया, जटिल प्रक्रिया र गुनासो समाधानमा ढिलाइ जस्ता समस्याहरू देखिँदै आएका थिए। अहिले ती समस्या समाधान गर्न मन्त्रालय र टेलिकमबीच समन्वयात्मक रूपमा काम भइरहेको छ।
डेटा प्याक सकिएपछि स्वतः मुख्य ब्यालेन्सबाट रकम काटिने व्यवस्था हटाइएको छ। अब ग्राहकले थप स्पष्ट र विकल्पयुक्त सेवा पाउनेछन्। डेटा प्याकको ९० प्रतिशत प्रयोग भएपछि ग्राहकलाई पूर्वसूचना दिइनेछ। साथै, ‘पे-एज-यू-गो’ (PAYG) प्रणालीमार्फत प्याकेजबिनै इन्टरनेट प्रयोग गर्ने सुविधा पनि उपलब्ध गराइएको छ, जसले ग्राहकलाई आवश्यकताअनुसार सेवा छनोट गर्ने स्वतन्त्रता दिन्छ।
टेलिकमका अनुसार यो प्रणाली हाल परीक्षणमा रहेको छ र केही दिनभित्र पूर्ण रूपमा लागू हुनेछ। यूएसएसडीमार्फत खरिद गरिने डेटा प्याकमा ३–५ दिनभित्र र मोबाइल एप प्रयोगकर्ताका लागि ७–१० दिनभित्र यो सुविधा लागू गरिनेछ।
ग्राहक सेवा प्रक्रियालाई अझ सरल बनाउन ‘वन टाइम केवाइसी’ प्रणाली पनि लागू गरिनेछ। यसअन्तर्गत ग्राहकले एकपटक विवरण बुझाएपछि पुनः कागजात पेश गर्नुपर्ने झन्झट हट्नेछ। सिम लिन, नवीकरण गर्न वा अन्य सेवा लिन बारम्बार कागजात बुझाउनुपर्ने समस्या अब समाधान हुने अपेक्षा गरिएको छ। यो प्रणाली ३० दिनभित्र कार्यान्वयनमा ल्याइने लक्ष्य छ।
डिजिटल रूपान्तरणलाई तीव्रता दिँदै टेलिकमले ई–सिम वितरण, गुनासो व्यवस्थापन, हराएको सिम पुनःप्राप्ति र स्वामित्व हस्तान्तरण जस्ता सेवा अनलाइनमार्फत उपलब्ध गराउने तयारी गरेको छ। यसले विशेषगरी दुर्गम क्षेत्रका सेवाग्राहीलाई ठूलो सहजता प्रदान गर्नेछ।
त्यसैगरी, सबै कार्यालयमा ‘एकल विन्दु सेवा’ सहायता कक्ष स्थापना गरिनेछ, जसबाट ग्राहकले एकै ठाउँबाट सबै सेवा लिन सक्नेछन्। यसले विभिन्न काउन्टर धाउनुपर्ने झन्झट हटाउनेछ।
फोरजी सेवाको गुणस्तर सुधार गर्न पनि पहल भइरहेको छ। देशका विभिन्न स्थानमा कमजोर नेटवर्कबारे गुनासो बढेपछि आवश्यक नीतिगत सुधार र थप फ्रिक्वेन्सी उपलब्ध गराउने तयारी भइरहेको छ। आगामी ३० दिनभित्र यी सुधार पूरा गरी सेवा गुणस्तर उकास्ने लक्ष्य राखिएको छ।

















