Logo

२४ चैत, काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादव अचानक स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना हुनुभएको छ ।

सोमबार राति ९ बजेतिर स्वास्थ्यमा असहजता महसुस भएपछि उहाँलाई महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा लगिएको हो ।

अस्पतालका निर्देशक एवं वरिष्ठ कार्डियोलोजिष्ट डा.रत्नमणि गजुरेलका अनुसार उपराष्ट्रपति यादवमा उच्च रक्तचाप (हाइ प्रेसर) र पेटमा ग्यास भरिने (ग्यास्ट्रिक) समस्या देखिएको छ । राति सुत्ने समयमा असहज भएपछि उहाँलाई अस्पताल ल्याइएको थियो, त्यसबेला रक्तचाप निकै बढेको पाइएको थियो डा. गजुरेलले बताए । हाल उहाँलाई अस्पतालको भीआईपी क्याबिन नम्बर ७०१ मा राखेर उपचार र निगरानी भइरहेको छ ।

उपराष्ट्रपतिको उपचारका लागि डा। गजुरेलको नेतृत्वमा कार्डियोलोजिष्ट र पेटरोग विशेषज्ञहरूको टोली खटिएको छ । अस्पताल स्रोतका अनुसार अहिलेसम्म गरिएका अधिकांश स्वास्थ्य परीक्षणका रिपोर्टहरू सामान्य (नर्मल) आएका छन् भने केही रिपोर्टहरू आउन बाँकी छ ।

हाल उहाँको स्वास्थ्य अवस्था सामान्य र स्थिर रहेको चिकित्सकहरूले बताएका छन् । परीक्षणका सबै रिपोर्टहरू आएपछि र स्वास्थ्यमा पूर्ण सुधार देखिएपछि उहाँलाई डिस्चार्ज गरिने अस्पताल प्रशासनले जनाएको छ ।


सम्बन्धित समाचार