Logo

२४ चैत,काठमाडौं । नेपाल प्रेस युनियनले सरकारी विज्ञापन निजी सञ्चार माध्यममा प्रकाशन–प्रसारण गर्न रोक लगाउने सरकारी निर्णयविरुद्ध देशव्यापी अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेको छ।

युनियनका महासचिव दिलीप पौडेलद्वारा जारी परिपत्रमार्फत सबै प्रदेश, जिल्ला तथा प्रतिष्ठान शाखालाई आगामी ७ दिनभित्र अन्तरक्रिया कार्यक्रम आयोजना गरी त्यसको प्रतिवेदन केन्द्रमा पठाउन निर्देशन दिइएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले हालै जारी गरेको निर्देशनअनुसार अब सबै प्रकारका सरकारी विज्ञापन, सूचना तथा सार्वजनिक खरिदसम्बन्धी जानकारी सरकारी स्वामित्वका सञ्चार माध्यमबाट मात्र प्रकाशन–प्रसारण गर्नुपर्ने व्यवस्था गरिएको छ।

युनियनका अनुसार उक्त निर्णयले निजी तथा स्वतन्त्र मिडियामा गम्भीर आर्थिक संकट ल्याउने, रोजगारी गुम्ने, सञ्चार गृह बन्द हुने तथा सूचनाको बहुलता घट्ने जोखिम बढ्नेछ। महासचिव पौडेलले यसले समग्र सञ्चार क्षेत्रमै नकारात्मक प्रभाव पार्ने बताएका छन्।

देशभरका शाखाहरूलाई आयोजना गर्न भनिएको अन्तरक्रिया कार्यक्रममा मिडिया सञ्चालक, सम्पादक, पत्रकार, विज्ञापन एजेन्सी, कानुनविद् तथा सञ्चार विज्ञहरूको सहभागिता रहनेछ। छलफलमार्फत प्राप्त निष्कर्ष, सुझाव र सिफारिससहितको प्रतिवेदन २०८२ चैत ३० गतेभित्र केन्द्रीय कार्यालयमा पठाउन आग्रह गरिएको छ।

युनियनका अध्यक्ष शिव लम्सालले सरकारको निर्णयले प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रतामा प्रत्यक्ष असर पर्ने बताएका छन्।

युनियनले पारदर्शी विज्ञापन वितरण प्रणाली लागू गर्न, मितव्ययिता कायम राख्दै निजी मिडियालाई समेत समेट्ने नीति ल्याउन सरकारसँग माग गरेको छ। साथै, देशभरबाट सरोकारवालाको सुझाव संकलन गरी सरकारसमक्ष प्रस्तुत गर्ने तयारी गरिएको जनाएको छ।


सम्बन्धित समाचार