Logo

२४ चैत,वीरगञ्ज । जलेश्वर बर्दिबास सडकखण्डको बथनाहा गाउँमा आज दुई मोटरसाइकल आपसमा ठोक्किँदा आगलागी हुँदा तीन जना विद्यार्थीको जलेर मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक शैलेन्द्र भट्टका अनुसार सो घटनामा थप तीन जना विद्यार्थी गम्भीर घाइते भएका छन्। घाइतेहरूको उपचार जलेश्वरस्थित प्रादेशिक अस्पतालमा भइरहेको छ।

प्रहरीले मृतक र घाइतेहरूको नाम, ठेगाना खुलाएको छैन। ठोक्किँदा दुवै मोटरसाइकल पूर्ण रूपमा जलेर नम्बर प्लेट समेत नदेखिने अवस्था रहेको छ।

घटनाका अनुसार आज बिहान विपरीत दिशाबाट आएका मोटरसाइकलहरू जलेश्वर बर्दिबास सडकखण्ड, एकडारा गाउँपालिका–५ बथनाहा गाउँमा ठोक्किएका थिए। आगलागीले घटनास्थलमै तीन विद्यार्थीको मृत्यु भएको छ। उनीहरू हालै एसईई परीक्षा दिँसकेका विद्यार्थी रहेको प्रहरीले जनाएको छ।

घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर र एक जनाको अवस्था मध्यम रहेको छ। थप अनुसन्धान जारी छ।


सम्बन्धित समाचार