Logo

२४ चैत,वीरगञ्ज । प्रदेशका विभिन्न सरकारी कार्यालयहरूमा अनावश्यक झन्झट सिर्जना गर्ने र गैरकानुनी लाभ लिने बिचौलियाविरुद्ध प्रदेश प्रहरीले व्यापक कारबाही सुरु गरेको छ।

गृहमन्त्रालयको निर्देशनमा सञ्चालन भएको विशेष अभियानअन्तर्गत मालपोत, यातायात व्यवस्था कार्यालय, अदालत, बस पार्क र ट्रायल सेन्टरबाट कुल ३४ जना बिचौलिया पक्राउ परेका छन्।

प्रदेश प्रहरी प्रमुख गोबिन्द थपलियाका अनुसार सेवाग्राहीसँग गैरकानुनी लाभ लिने गतिविधिमा संलग्न व्यक्तिहरूमाथि निगरानी बढाइएको छ।

जिल्लागत विवरण अनुसार वीरगन्जबाट ७ जना (नारायणी यातायात कार्यालय–४, मालपोत कार्यालय–३), सर्लाहीबाट ९ जना (मालपोत–७, ट्रायल सेन्टर–२), रौतहटबाट ६ जना (मालपोत, अदालत र बस पार्क क्षेत्र), सप्तरीबाट ११ जना र सिरहाबाट १ जना पक्राउ परेका छन्।

प्रदेश प्रहरी कार्यालयले पक्राउ परेकामाथि आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको जानकारी दिएको छ। साथै, आगामी दिनमा यस्ता बिचौलियाविरुद्ध कारबाही अझ कडाइका साथ जारी रहने बताइएको छ।


सम्बन्धित समाचार