Logo

२४ चैत,वीरगञ्ज । बारा निर्वाचन क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य ई. अरविन्द साहले हुलाकी राजमार्ग निर्माणका क्रममा वितरण गरिएको मुआब्जाको विस्तृत विवरण माग गरेका छन्।

सांसद साहले बाराका प्रमुख जिल्ला अधिकारीलाई पत्र लेख्दै आर्थिक वर्ष २०८०/८१ देखि हालसम्मको मुआब्जा वितरण विवरण अध्ययनका लागि आवश्यक रहेको बताएका हुन्।

पत्रमा मुआब्जा पाउने व्यक्तिको नाम, सम्पर्क नम्बर, जग्गाको क्षेत्रफल, घरको प्रकार, सिफारिस गर्ने कर्मचारीको विवरण र भुक्तानी रकम लगायत १४ वटा बुँदामा आधारित तथ्याङ्क उपलब्ध गराइदिन अनुरोध गरिएको छ।

सांसद साहले ती विवरणहरू तालिकाबद्ध गरी एक्सेल सिटमा तयार गरि आगामी चैत्र ३० गतेभित्र आफ्नो आधिकारिक इमेलमा पठाउन निर्देशन दिएका छन्।

उक्त विवरण मागको उद्देश्य मुआब्जा वितरण प्रक्रियामा पारदर्शिता सुनिश्चित गर्नु र वास्तविक पीडितले उचित मुआब्जा पाएको वा नपाएको अध्ययन गर्नु रहेको बुझिएको छ। पत्रमा नापी गर्ने अमिनदेखि भुक्तानी मितिसम्मको स्पष्ट रेकर्ड उपलब्ध गराउन पनि भनिएको छ।

सांसद साहले आयोजना तथा मुआब्जा व्यवस्थापनको यथार्थ चित्र सार्वजनिक गर्ने अपेक्षा राखेका छन्।


सम्बन्धित समाचार