Logo

 २४ चैत,काठमाडौं । राजविराज–सखडा सडकको दयनीय अवस्थाप्रति आक्रोशित स्थानीयवासीले मर्मत तथा कालोपत्रे कार्यको माग गर्दै लगातार दोस्रो दिन पनि सडक अवरुद्ध पारेका छन्।

प्रसिद्ध शक्तिपीठ छिन्नमस्ता भगवती मन्दिरसम्म पुग्ने उक्त सडक जीर्ण बनेपछि स्थानीयले आन्दोलन थालेका हुन्। आइतबार बिहानदेखि विष्णुपुर गाउँपालिका क्षेत्रको सडकखण्डमा ढाट, डोजर र टिप्पर तेर्स्याएर आवागमन पूर्ण रूपमा ठप्प पारिएको छ, जुन सोमबार पनि जारी रहेको छ।

राजविराजदेखि मन्दिरसम्म करिब १२ किलोमिटर सडकमध्ये केही भागमा मात्र कालोपत्रे गरिएको भए पनि झण्डै ७ किलोमिटर अझै बाँकी रहेको स्थानीयको भनाइ छ। सडकको अवस्था अत्यन्त खराब भएकाले सुख्खायाममा धुलो र वर्षायाममा हिलोका कारण स्थानीयवासी तथा यात्रुहरू दैनिक सास्ती खेप्दै आएका छन्।

स्थानीय सिद्धार्थ साहका अनुसार वर्षौंदेखि सडक सुधारको काम अलपत्र अवस्थामा छ। त्यस्तै, स्थानीय मुन्ना शर्माले लामो समयसम्म माग सम्बोधन नभएपछि बाध्य भएर चक्काजाम गर्नुपरेको बताए।

सडकमा भारी उपकरण राखेर अवरोध गरिएपछि दुवैतर्फ सवारी साधन रोकिएका छन् र यात्रुहरू समस्यामा परेका छन्। स्थानीयले निर्माण कम्पनीको ढिलासुस्तीप्रति असन्तुष्टि जनाउँदै कामलाई तीव्रता दिन तथा शीघ्र सडक स्तरोन्नति गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।


सम्बन्धित समाचार