Logo

२५ चैत, काठमाडौँ । पूर्वमिस नेपाल उषा खड्गीको जाहेरीका आधारमा पूर्वपति जीपी तिमल्सिना पक्राउ परेपछि यो विवादले नयाँ मोड लिएको छ। अभद्र व्यवहारको आरोपमा जीपी हिरासतमा पुगेकै दिन उनकी कान्छी पत्नी सविना अधिकारीले पहिलो पटक सार्वजनिक रूपमा मुख खोल्दै उषाका आरोपहरूको तीव्र खण्डन गरेकी छन् ।

जीपी पक्राउ परेपछि दिनभर जिल्ला प्रहरी परिसर भक्तपुरमा रहेकी सविनाले सञ्चारकर्मीहरूसँग कुरा गर्दै उषाले मिडियाबाजी गरेर आफ्नो समेत चरित्र हत्या गर्न खोजेको गुनासो गरिन्। उषाले लगाएका आरोपमा कुनै सत्यता नभएको दाबी गर्दै सविनाले घटनाको दिनको वास्तविकता लुकाइएको बताइन् ।

सविनाका अनुसार जेठ १७ गते बेलुका जीपी आफ्नै घरको आँगनमा छोरासँग ब्याडमिन्टन खेलिरहेका थिए। त्यही समयमा उषालाई पुर्‍याउन शर्मा थरका एक व्यक्ति गाडी लिएर आएका थिए । गाडीको लाइटले आँखामा डिस्टर्ब गरेपछि जीपीले ‘गेट आउट’ भनेको र त्यसपछि मात्र उषाले झगडा सुरु गरेको सविनाको जिकिर छ। उनले ती शर्मा थरका व्यक्ति उषाको पुरानो साथी भएको र उनले पहिलेदेखि नै जीपीलाई धम्की दिने गरेको समेत आरोप लगाइन् ।

आर्थिक विषयमा प्रष्टीकरण दिँदै सविनाले घरको किस्तादेखि छोराछोरीको महँगो स्कुल शुल्कसम्म जीपीकै खाताबाट भुक्तानी भइरहेको प्रमाण आफूहरूसँग सुरक्षित रहेको बताइन्। “घर सिद्धार्थ बैंकको ऋणमा छ, जसको किस्ता जिपीले तिरिरहनुभएको छ । छोराको ३०-३२ हजार र छोरीको ३५-३७ हजार फी पनि उहाँले नै तिरिरहनुभएको छ,” सविनाले भनिन्, “जिम्मेवारी कसले उठाएको छ भन्ने कुरा बैंक र स्कुलमा गएर बुझ्दा हुन्छ।”

सविनाले उषाको नियतमाथि प्रश्न उठाउँदै थपिन्, “उहाँको नियत जसरी भए पनि एक दिन जीपी सरलाई थुनाउने मात्र देखिन्छ। आफ्नै आत्मासँग झूट बोलेर यस्तो गलत नियत राख्नेलाई के भन्न सकिन्छ र!” उनले उषाले घरमा आफ्ना अभिभावक र आफन्तसहित ८-१० जना राखेको तर खर्च भने जीपीले नै बेहोरिरहेको दाबी गरिन् ।

सम्पत्ति विवाद सुल्झाउन आफूहरू तयार रहेको उल्लेख गर्दै सविनाले उषाले घर लिने भए आफूहरूको हिस्सा दिएर घर छाडिदिने वा उषा छुट्टै बस्न चाहेमा कानुन अनुसारको हकदाबी एक साताभित्रै भुक्तानी गर्न तयार रहेको बताइन्। आफूहरूसँग घटनाको सीसीटीभी फुटेज र अडियो रेकर्ड समेत सुरक्षित रहेको भन्दै उनले अब कानुनी रूपमै अगाडि बढ्ने स्पष्ट पारेकी छन् ।


सम्बन्धित समाचार