३१असार,वीरगञ्ज । पर्साको कालिकामाई गाउँपालिकाका कम्प्युटर अपरेटर चन्दन कुमार चौरसियामाथि कार्यालयभित्रै भएको कुटपिट घटनामा एक सातासम्म पनि किटानी जाहेरी दर्ता नभएको भन्दै गाउँपालिकाका कर्मचारीहरूले गम्भीर असन्तुष्टि जनाएका छन्। दोषीमाथि तत्काल कानुनी कारबाहीको माग गर्दै उनीहरूले आन्दोलनका थप कार्यक्रम सार्वजनिक गरेका छन्।
मङ्गलवार वीरगञ्जमा आयोजित पत्रकार सम्मेलनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशव कुमार अधिकारीले कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष सञ्जय कुमार पटेल, गाउँपालिका–२ निवासी राजनिश कुशवाहा तथा हिरालाल राउत कुर्मीविरुद्ध आपराधिक उपद्रव मुद्दामा किटानी जाहेरी दर्ता गराउन खोज्दा प्रहरीले हालसम्म दर्ता नगरेको आरोप लगाए।
उनका अनुसार घटना भएको भोलिपल्ट नै इलाका प्रहरी कार्यालय पोखरिया र जिल्ला प्रहरी कार्यालय पर्सामा जाहेरी दर्ताका लागि पुगे पनि प्रक्रिया अघि बढाइएको छैन। “इलाका प्रहरीले जिल्लामा जान भन्यो, जिल्लाले फेरि इलाकामै पठायो। पछि जाहेरी लिए पनि दर्ता गरिएन,” उनले भने। उनले जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक सुदीप राज पाठकलाई भेट्नसमेत नसकिएको गुनासो गरे।
अधिकारीले घटनाको सिसिटिभी फुटेजमा कार्यालयभित्र कर्मचारीमाथि कुटपिट भएको स्पष्ट देखिए पनि प्रहरीले कुनै ठोस कदम नचालेको दाबी गरे। उनले घटनाका कारण कर्मचारीहरूको मनोबल खस्किएको, गाउँपालिकाको प्रशासनिक कामकाज प्रभावित भएको तथा सुशासनमा नकारात्मक असर परेको बताए।
प्रशासन शाखा प्रमुख सरोज कुमार साहका अनुसार आन्दोलनअन्तर्गत असार ३१ गतेदेखि साउन १ गतेसम्म कर्मचारीहरूले कालोपट्टि बाँधेर बिहान ९ बजेदेखि १२ बजेसम्म मात्र कार्यालय सञ्चालन गर्नेछन्। साउन ४ र ५ गते जिल्ला प्रशासन कार्यालय पर्साअगाडि गाउँपालिका तथा वडा कार्यालयका कर्मचारीहरूले धर्ना दिने कार्यक्रम तय गरिएको छ। माग सम्बोधन नभए साउन ६ गते गाउँपालिका अन्तर्गतका सम्पूर्ण कार्यालय बन्द गरी साँचो जिल्ला प्रशासन कार्यालयमा बुझाउने निर्णय गरिएको उनले जानकारी दिए।
यसअघि पनि कर्मचारीहरूले पेनडाउन आन्दोलन गर्दै गाउँपालिकाको प्रशासनिक कामकाज ठप्प पारेका थिए। आन्दोलनका क्रममा दुई दिनसम्म विद्यालय र स्वास्थ्य संस्थासमेत बन्द गरिएपछि आलोचना बढेपछि ती सेवा पुनः सञ्चालन गरिएको थियो।
पीडित कर्मचारी चन्दन कुमार चौरसियाले कार्यालय समयमै योजनाबद्ध रूपमा आफूमाथि आक्रमण भएको दाबी गर्दै घटनामा संलग्न सबैलाई कानुनी दायरामा ल्याउन, दोषीलाई कानुनबमोजिम कारबाही गर्न तथा सरकारी कर्मचारीको सुरक्षा सुनिश्चित गर्न माग गरेका छन्।
यता, जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्र मल्लले कर्मचारी पक्षबाट आपराधिक उपद्रवसम्बन्धी जाहेरी प्राप्त भएको पुष्टि गर्दै घटनाबारे अनुसन्धान भइरहेको बताए।
पत्रकार सम्मेलनमा गाउँपालिकाका कर्मचारी तथा सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूको उपस्थिति रहेको थियो। त्यसअघि कर्मचारीहरूको टोलीले पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहाललाई भेटेर जाहेरी दर्ता नभएको विषयमा ध्यानाकर्षण गराउँदै आवश्यक पहल गर्न आग्रह गरेको जनाएको छ।



















