Logo

३१असार,वीरगञ्ज । सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा प्रयोगशालाका लागि आवश्यक केमिकल अभाव भएपछि पाँच दिनदेखि विभिन्न ल्याब परीक्षण सेवा प्रभावित भएको छ। यसका कारण बिरामीहरू निजी प्रयोगशालामा महँगो शुल्क तिरेर परीक्षण गराउन बाध्य भएका छन्।

केमिकल अभावका कारण अस्पतालमा उपचारका लागि आउने बिरामीहरूले आवश्यक प्रयोगशाला परीक्षण समयमै गराउन नपाएको भन्दै गुनासो गरेका छन्। अस्पतालको प्रयोगशालामा सीबीसी, थाइराइड, सीआरपी क्वान्टिटेटिभ, सीके–एमबी, सीपीके तथा एमाइलेजलगायतका परीक्षण सेवा बन्द रहेको जनाइएको छ।

राजविराज नगरपालिका–२ की ७५ वर्षीया सावित्रीदेवी देवले अस्पतालमा थाइराइड परीक्षण सेवा बन्द भएपछि निजी प्रयोगशालामा गएर महँगो शुल्क तिरेर परीक्षण गराउनुपरेको बताइन्। उनले अस्पतालजस्तो संवेदनशील स्वास्थ्य संस्थामा आवश्यक केमिकल अभाव हुँदा बिरामीले आधारभूत परीक्षण सेवासमेत नपाउनु दुःखद भएको प्रतिक्रिया दिइन्।

अस्पतालमा उपचार गराइरहेका बिरामीका आफन्त तथा राजगढ गाउँपालिका–४ का नितेश मण्डलले अस्पताल प्रशासनले तत्काल आवश्यक केमिकलको व्यवस्था गरी नियमित रूपमा सबै प्रयोगशाला सेवा सञ्चालन गर्नुपर्ने माग गरे।

यता, गजेन्द्रनारायण सिंह अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट (मेसु) डा. वीरेन्द्र मण्डलले आवश्यक केमिकल अभावका कारण केही प्रयोगशाला परीक्षण सेवा प्रभावित भएको स्वीकार गरे। उनका अनुसार केही प्राविधिक कठिनाइका कारण समस्या उत्पन्न भएको हो।

“आवश्यक सामग्री खरिदको प्रक्रिया अघि बढिसकेको छ। छिट्टै केमिकल उपलब्ध गराएर प्रभावित सबै प्रयोगशाला सेवा पुनः सञ्चालन गर्नेछौँ,” डा. मण्डलले बताए।


सम्बन्धित समाचार