Logo

२५ चैत्र चितवन । नेपालको मौलिक पहिचान बोकेको सारङ्गीको मधुर धुन जति सुन्दर सुनिन्छ, त्यसभित्र लुकेको जीवनको कथा त्यति नै पीडादायी र गहिरो हुन्छ। यस्तै एउटा संघर्ष, पीडा र आशाको कथा बोकेका पात्र हुन् बाग्लुङ जिल्लाको काठेखोला गाउँपालिका वडा नम्बर ६ फापरखेतमा २०४७ साल मंसिर ५ गते जन्मिनुभएका श्याम गन्धर्व।

बुवा जुनबहादुर गायक र आमा जानुका माया गायकको कोखबाट चार दाजुभाइ र दुई दिदीबहिनीमध्ये कान्छो सन्तानका रूपमा जन्मिएका श्यामको बाल्यकाल अभाव, दुःख र संघर्षले भरिएको थियो। विद्यालय जाने उमेरमै गरिबीले थिचेपछि उनले कहिल्यै स्कुलको ढोका टेक्न पाएनन्। १० वर्षको कोमल उमेरमा आफ्नै माइलो दाइको सालाले भारत पुर्‍याए, जहाँ होटलमा भाँडा माझ्ने काममा लगाइयो।

त्यो उमेर, जहाँ बच्चाहरू आमाबुबाको काखमा बसेर अक्षर चिन्छन्, खेल्छन् र सपनाहरू बुन्छन्—त्यही उमेरमा श्याम विदेशी भूमिमा भाषा नमिल्ने, आफ्नोपन नपाइने परिवेशमा दिनरात पसिना बगाउँदै थिए। उनले आफैं सुनाउँछन्—त्यो एक दशकमा कति रातहरू रोए, कति चोटहरू मनभित्र गाडिए, कसैले सोध्ने मान्छे थिएन, सम्झाउने हात थिएन। १० वर्षसम्म लगातार होटलमै काम गर्दै उनले आफ्नो बालापन त्यहीँ गुमाए।

दश वर्षपछि नेपाल फर्किए, तर आफ्नै गाउँ, आफ्नै परिवारको ठेगाना नै थाहा थिएन। नेपाल आइपुगेपछि काठमाडौ पुगेर होटलमा काम गरे, कहिले ज्याला मजदुरी। जीवनलाई अघि बढाउन उनी निरन्तर संघर्षमै थिए। यही क्रममा साथीभाइको सल्लाहमा २०६४ सालमा सप्तरी जिल्लामा चन्द्रमणि विश्वकर्मासँग विवाह भयो। एक छोरा जन्मिएपछि पनि जीवनको संघर्ष रोकिएन।

जीवनको सबैभन्दा अनौठो मोड भने त्यसबेला आयो, जब कामकै सिलसिलामा पर्वत जाँदै गर्दा बाटोमा सारङ्गी बजाउँदै गीत गाउँदै गरेका एक गन्धर्वसँग भेट भयो। सामान्य चिनजानबाट सुरु भएको कुराकानीले एकाएक भावनात्मक मोड लियो—त्यो गन्धर्व अरू कोही नभई आफ्नै माइलो दाइ थिए। वर्षौंको बिछोडपछि भएको त्यो भेटले उनको जीवनमा आशाको नयाँ किरण ल्यायो।

त्यतिबेला उनकी श्रीमती गर्भवती थिइन्, छोरी अझै जन्मिएकी थिइनन्। परिस्थितिले उनलाई तुरुन्त दाजु सङ घर फर्किन दिएन, तर दाइसँग नम्बर साटासाट भयो। पछि परिवार सहित बाग्लुङ फर्किए। तर त्यहाँ पनि सहजता थिएन—बुवाले सबै सम्पत्ति बेचिसकेपछि दाजुभाइहरू भाडामा बसिरहेका थिए। उनी पनि त्यहीँ दाजुसँगै भाडामा बस्न थाले।

आज पनि श्यामको जीवन उस्तै संघर्षशील छ। कहिले ज्याला मजदुरी गर्छन्, कहिले होटलमा काम गर्छन्। काम नपाएको बेला सारङ्गी बोकेर देशका विभिन्न जिल्लाहरू घुम्छन्, गीत गाउँछन्, आफ्नो पीडा सुनाउँछन्। खुशी साथ दिएको रकम उनी सधैं मुस्कानसहित स्वीकार गर्छन्। किनकि त्यो उनको मात्र जीविकोपार्जन होइन, त्यो उनको पहिचान हो।

गन्धर्व जातिको मौलिक बाजा सारङ्गी आज विस्तारै लोप हुँदै गएको छ। आधुनिकताको भीडमा पुरानो संस्कृतिको आवाज हराउँदै जाँदा, श्यामजस्ता कलाकारहरू त्यसको संरक्षणमा एक्लै लडिरहेका छन्। उनी भन्छन्—“यो हाम्रो पहिचान हो, हाम्रो आत्मा हो, यसलाई जोगाउनुपर्छ।”

तर व्यक्तिगत जीवनमा उनी अझै अधुरो छन्। १६ वर्ष पुगेको छोरा पढाइ छोडेर ग्यारेजमा काम गर्न बाध्य भएको छ। छोरीलाई होस्टेलमा राखेका छन्। यति धेरै संघर्षका बाबजुद पनि उनकी श्रीमती अहिले उनीसँग छैनन्। उनी बारम्बार प्रयास गरिरहेका छन्—परिवार फेरि एक ठाउँमा जुटोस् भनेर।

सारङ्गीका तारहरूमा जब उनी “परिवारले छोडेका गीतहरू” गाउँछन्, उनका आँखाबाट आँसु टलपल झर्छन्। आवाज भासिन्छ, तर भावना अझ गहिरो बन्छ। उनी भन्छन्—“अब कति बाँचिन्छ र… जति दुःख सहनु थियो, सहिसकेँ। अब त श्रीमती, छोरा–छोरीसँगै एकै ठाउँमा बस्न पाए पुग्थ्यो। यसरी टाढा बस्दा मन भक्कानिन्छ।”

श्याम गन्धर्व केवल एक कलाकार होइनन्, उनी संघर्षको जिउँदो प्रतिमूर्ति हुन्। उनको सारङ्गीमा नेपालको मौलिकता छ, उनको गीतमा पीडा छ, र उनको आँखामा अझै पनि आशा बाँकी छ।
देशले यस्ता कलाकारलाई चिन्न सकेन भने, केवल एउटा मान्छे मात्र हराउँदैन—हाम्रो संस्कृति र हाम्रो पहिचान नै हराउँदै जान्छ।


सम्बन्धित समाचार