Logo

२६ चैत,वीरगञ्ज । पर्सा क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य सुशील कुमार कानुले आफ्नो निर्वाचन क्षेत्रमा घरदैलो कार्यक्रमलाई निरन्तरता दिएका छन्। फागुन २१ को निर्वाचनबाट निर्वाचित भएका कानु काठमाडौंमा संसद् बैठकबाहेकका समयमा क्षेत्रमै पुगेर जनतासँग प्रत्यक्ष भेटघाट गर्दै उनीहरूका समस्या सुन्दै आएका छन्।

यसैक्रममा बिहीबार उनले वीरगन्ज महानगरपालिका वडा नम्बर २६ र २७ मा पुगेर स्थानीयबासीसँग अन्तरक्रिया गरेका छन्। वडा नम्बर २६ का बासिन्दाले वर्षायाममा पानी निकासको अभावका कारण ठूलो परिमाणमा खेतीयोग्य जमिन डुबानमा पर्ने समस्या रहेको गुनासो गरेका थिए। स्थानीय किसानहरूले उक्त समस्याले वर्षेनी क्षति व्यहोर्नु परेको भन्दै समाधानका लागि पहल गरिदिन आग्रह गरेका थिए।

जवाफमा सांसद कानुले डुबान समस्या समाधानका लागि स्थानीय सरकारसँग समन्वय गरेर दीर्घकालीन समाधान खोज्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

त्यसपछि वडा नम्बर २७ मा पुगेका कानुसमक्ष स्थानीयले शिक्षा, स्वास्थ्य र विद्युत आपूर्तिसम्बन्धी समस्या उठाएका थिए। वडामा विद्यालय र स्वास्थ्य चौकीको अभाव, अनियमित विद्युत आपूर्ति तथा आवश्यक स्थानमा विद्युतीय पोलको कमी रहेको विषयमा ध्यानाकर्षण गराइएको थियो।

सांसद कानुले ती समस्याहरू समाधानका लागि सम्बन्धित निकायसँग पहल गर्ने आश्वासन दिएका छन्।

जनतासँगको उक्त भेटघाट कार्यक्रममा रास्वपाका क्षेत्रीय सभापति फैयाज आलम, युवा नेता सुधिर पटेल र निखिल वर्णवाललगायतको पनि सहभागिता रहेको थियो।


सम्बन्धित समाचार