Logo

 २६ चैत,काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार साहलाई पदबाट हटाउने तयारी गरेका छन्।

प्रधानमन्त्रीनिकट स्रोतका अनुसार मन्त्री साहको विगतदेखि नै विवादित छवि रहँदै आएको र मन्त्री बनेपछि पनि शंकास्पद गतिविधिमा संलग्न भएको संकेत पाएपछि उनलाई हटाउने तयारी गरिएको हो।

स्रोतका अनुसार श्रम मन्त्रालयको जिम्मेवारीसँग बाझिने खालका गतिविधि मन्त्री साहबाट भइरहेको पाइएको छ। वैदेशिक रोजगारीसँग सम्बन्धित संस्थासँग उनको संलग्नता रहेको तथा रातिको समयमा विभिन्न भेटघाट गरेको सूचनासमेत प्रधानमन्त्रीसमक्ष पुगेको बताइएको छ। यसले स्वार्थ बाझिने अवस्था सिर्जना गरेकाले उनलाई पदमुक्त गर्ने निर्णय हुनसक्ने जनाइएको छ।

मन्त्री साह यसअघि एजुकेसन कन्सल्टेन्सीसम्बन्धी विवादमा समेत मुछिएका व्यक्ति हुन्।

यसैबीच, मन्त्री साहकी श्रीमती जुनु श्रेष्ठ स्वास्थ्य बीमा बोर्डको बैठकमा सदस्यको रूपमा सहभागी भएको विषय पनि विवादमा परेको छ। उनी यसअघि लगातार ११ पटक बैठकमा अनुपस्थित भएको भन्दै बोर्डबाट हटाइएकी थिइन्। तर, हाल पुनः सदस्यको हैसियतमा बैठकमा सहभागी भएपछि यस विषयले थप प्रश्न उठाएको छ।

सरकारले मन्त्री साहमाथिका यी आरोप र विवादलाई ध्यानमा राख्दै आवश्यक निर्णय गर्ने तयारी गरेको जनाइएको छ।


सम्बन्धित समाचार