Logo

२६ चैत, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहतालाई पदीय जिम्मेवारीमा अपेक्षित गम्भीर्यता नदेखाएको भन्दै सचेत गराउनुभएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको विशेष सिफारिसका आधारमा प्रधानमन्त्रीले मन्त्री मेहतालाई कार्यशैली सुधार्न चेतावनी दिनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । चैत १३ गते मन्त्री नियुक्त भएकी मेहताले आफ्नो मन्त्रालयअन्तर्गतका संवेदनशील विषयहरूमा जिम्मेवार भूमिका निर्वाह नगरेको पार्टीको ठहर छ, जसका कारण उनलाई पहिलो चरणमा सचेत गराउने निर्णय लिइएको हो ।

यो कदम श्रममन्त्री दीपककुमार साहलाई पदमुक्त गर्ने प्रक्रियासँगै जोडिएर आएको छ । सभापति लामिछानेले प्रधानमन्त्रीलाई पठाएको पत्रमा पार्टीको आदर्श र मर्यादामा आँच आउन नदिन पदीय दुरुपयोग गर्नेलाई फिर्ता बोलाउने र आफ्नो जिम्मेवारीमा गम्भीर नहुनेलाई सचेत गराउनुपर्ने स्पष्ट पार्नुभएको थियो ।

सोही पत्रको आधारमा प्रधानमन्त्री शाहले मेहतालाई मन्त्रालयको कामकारबाहीमा थप जिम्मेवार बन्न सचेत गराउनुभएको हो । रास्वपाले आफ्ना मन्त्रीहरूको कार्यसम्पादनलाई सूक्ष्म रूपमा निगरानी गरिरहेको यो घटनाले पुष्टि गरेको छ ।

सरकार गठन भएको छोटो अवधिमै आफ्नै दलका मन्त्रीहरूमाथि रास्वपाले चालेको यो कडा कदमले राजनीतिक वृत्तमा चर्चा पाएको छ । स्वास्थ्य जस्तो संवेदनशील मन्त्रालय सम्हालिरहेकी मेहतालाई प्रधानमन्त्रीबाटै आएको यो सचेत गराउने पत्रले आगामी दिनमा उनको कार्यसम्पादनमा दबाब सिर्जना गर्ने देखिएको छ ।


सम्बन्धित समाचार