Logo

२७ चैत, काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह ९बालेन० ले आफ्नो मन्त्रिपरिषद्लाई थप पूर्णता दिने गरी नयाँ मन्त्रीहरू नियुक्त गर्ने तयारी गर्नुभएको छ ।

सरकार गठन भएको केही समयपछि प्रधानमन्त्री शाहले दुई नयाँ अनुहारलाई मन्त्रिपरिषद्मा सहभागी गराउन लाग्नुभएको हो। यसअघि नै मन्त्रालय सम्हाल्दै आएका श्रममन्त्री दीपक साहलाई बिहीबार पदमुक्त गरिएपछि रिक्त रहेको स्थान र प्रधानमन्त्री आफैँले सम्हाल्दै आएको उद्योग मन्त्रालयमा नयाँ नियुक्ति हुन लागेको हो ।

नयाँ मन्त्रीका रूपमा रामजी यादव र गौरीकुमारी यादवले जिम्मेवारी पाउने निश्चित भएको प्रधानमन्त्रीको सचिवालय स्रोतले जनाएको छ । प्राप्त जानकारी अनुसार रामजी यादवलाई श्रम मन्त्रालयको महत्त्वपूर्ण जिम्मेवारी सुम्पिने तयारी छ भने गौरीकुमारी यादवलाई उद्योग मन्त्रालयको कार्यभार दिइनेछ ।

यसअघि उद्योग मन्त्रालयको नेतृत्व प्रधानमन्त्री शाहले नै गर्दै आउनुभएको थियो । नवनियुक्त हुने मन्त्रीहरूमध्ये रामजी सप्तरी क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद हुनुहुन्छ भने गौरी महोत्तरी क्षेत्र नम्बर ४ बाट निर्वाचित जनमतको प्रतिनिधित्व गर्नुहुन्छ ।

प्रधानमन्त्री शाहले कार्यसम्पादनमा प्रभावकारिता ल्याउन र राजनीतिक सन्तुलन मिलाउनका लागि यो फेरबदल र विस्तार गरेको बुझिएको छ। हिजो मात्रै श्रममन्त्री साहलाई पदमुक्त गरिएपछि मन्त्रिपरिषद्मा केही हलचल देखिए पनि नयाँ नियुक्तिसँगै सरकारले आफ्ना प्राथमिकताका कामहरूलाई गति दिने अपेक्षा गरिएको छ ।

मधेस प्रदेशबाट प्रतिनिधित्व गर्ने दुई प्रभावशाली सांसदहरूलाई संघीय मन्त्रिपरिषद्मा सामेल गराउने यो कदमलाई राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ । नयाँ मन्त्रीहरूको शपथ ग्रहणको तयारी समेत भइरहेको बुझिएको छ ।


सम्बन्धित समाचार