Logo

२७ चैत,वीरगञ्ज । जानकी स्वयंसेवक संघले माता सीता जन्मोत्सव (जानकी नवमी) र राजर्षि जनक जयन्तीका अवसरमा राष्ट्रिय बिदा घोषणा गर्न सरकारसँग माग गरेको छ।

संघका अध्यक्ष स्वामी राम स्वराजले जिल्ला प्रशासन कार्यालय धनुषामार्फत प्रधानमन्त्री तथा सम्बन्धित निकायलाई पत्र पठाउँदै उक्त माग गरेका हुन्। पत्रमा मिथिलाको पवित्र भूमिमा अवतरित माता सीता सम्पूर्ण विश्वका नारीहरूको मर्यादा, त्याग, धैर्य, पवित्रता र आदर्शको प्रतीक भएको उल्लेख गर्दै उनको जन्मोत्सवलाई राष्ट्रिय स्तरमा मान्यता दिनुपर्ने आवश्यकता औंल्याइएको छ।

त्यसैगरी, राजर्षि जनकलाई महान दार्शनिक, न्यायप्रिय शासक तथा आदर्श व्यक्तित्वका रूपमा चित्रण गर्दै नेपाल सरकारले उनीहरूलाई राष्ट्रिय विभूति घोषणा गरिसकेको भए पनि उनीहरूको जन्मोत्सवमा राष्ट्रिय बिदा नदिइनु दुःखद र आश्चर्यजनक रहेको संघको भनाइ छ।

संघले अन्य राष्ट्रिय विभूतिहरूको जन्मजयन्तीमा बिदा दिइने परम्परा भए पनि जनक–सीता जस्ता ऐतिहासिक तथा सांस्कृतिक महत्वका व्यक्तित्वको सम्मानमा बिदा नदिइनुले राष्ट्रिय गौरवमाथि प्रश्न उठेको उल्लेख गरेको छ।

संघका अनुसार प्रत्येक वर्ष वैशाख शुक्ल नवमीका दिन मनाइने जानकी नवमी (यस वर्ष २०८२ वैशाख १२ गते, शनिबार) तथा फाल्गुण कृष्ण अष्टमीका दिन मनाइने राजर्षि जनक जयन्तीमा राष्ट्रिय बिदा घोषणा गर्न माग गरिएको छ।

संघले यस विषयमा आवश्यक पहल गरी मन्त्रिपरिषद्बाट निर्णय गर्न प्रधानमन्त्री तथा गृह मन्त्रालयलाई विशेष अनुरोधसमेत गरेको छ।


सम्बन्धित समाचार