३० चैत, वीरगञ्ज । नयाँ वर्ष २०८३ को पहिलो दिन वीरगञ्ज महानगरपालिका–१६ नगवामा विशेष धार्मिक अनुष्ठान ‘श्री हनुमान आराधना तथा महाआरती’ आयोजना हुने भएको छ । श्री नगवा दुर्गा पूजा समितिको आयोजनामा सञ्चालित श्री १०८ सप्ताह हनुमान चालीसा पाठ सफलतापूर्वक सम्पन्न भएको उपलक्ष्यमा यो भव्य कार्यक्रम गर्न लागिएको हो ।
हिन्दु पत्रकार संघ पर्साका अध्यक्ष राजन रौनियारको अध्यक्षतामा आयोजित पत्रकार सम्मेलनमार्फत आयोजक समितिले कार्यक्रमको तयारीबारे विस्तृत जानकारी गराएको छ। जसअनुसार वैशाख १ गते मंगलबारका दिन नगवा पोखरीस्थित प्रसिद्ध श्री बैधि माई मन्दिर परिसरमा यो आध्यात्मिक उत्सव मनाइनेछ ।
कार्यक्रमको तालिकाअनुसार सो दिन बिहानैदेखि बेलुका ५ बजेसम्म निरन्तर हनुमान आराधना सञ्चालन हुनेछ। त्यसैगरी, साँझ ६:३० बजे विशेष ‘महाआरती’ सुरु हुने आयोजकले जनाएका छन् । महाआरतीको समापनपछि उपस्थित सम्पूर्ण भक्तजनहरूका लागि प्रसाद वितरणको समेत व्यवस्था मिलाइएको छ ।
आयोजक समितिले यस विशेष धार्मिक कार्यक्रममा सहभागी भई पुण्य लाभ लिन सम्पूर्ण वीरगञ्जबासी, स्थानीयवासी तथा भक्तजनहरूमा हार्दिक निमन्त्रणा गरेको छ। नयाँ वर्षको सुरुवात धार्मिक चेतना र आध्यात्मिक जागरणका साथ गर्नका लागि यो कार्यक्रम महत्वपूर्ण हुने विश्वास लिइएको छ ।

















