Logo

३० चैत,वीरगञ्ज । वीरगञ्जमा एक प्रहरी जवानको हत्या गरिएको आरोपमा प्रहरीले एक महिलासहित चार जनालाई नियन्त्रणमा लिएको छ।

वीरगञ्ज महानगरपालिका–९ श्रीपुरस्थित भारतीय महावाणिज्य दूतावास पछाडिको एक घरमा आइतबार प्रहरी जवान २७ वर्षीय विकास चौरसियाको कुटपिट गरी हत्या गरिएको प्रहरीले जनाएको छ।

मृतक चौरसिया पर्साको कालिकामाई गाउँपालिका–१ मुडली निवासी हुन् र जिल्ला प्रहरी कार्यालय सप्तरीमा कार्यरत थिए। बिदामा घर आएका बेला आइतबार साँझ उनको हत्या भएको हो।

प्रहरीका अनुसार हत्यामा संलग्न रहेको आरोपमा रौतहटको माधवनारायण नगरपालिका–१ निवासी २६ वर्षीय सन्तोष साह, उनकी पत्नी २४ वर्षीया सोनी कुमारी साह, बारागढी नगरपालिका–७ निवासी १९ वर्षीय विशाल साह र भारत दिल्ली निवासी २१ वर्षीय ओमवीर प्रजापतिलाई पक्राउ गरिएको छ। पक्राउ परेकामध्ये विशाल सन्तोषका भाइ र ओमवीर उनका साथी रहेको बताइएको छ।

प्रहरी अनुसन्धान अनुसार मृतक चौरसिया र सन्तोषकी पत्नी सोनीबीच पहिलेदेखि चिनजान रहेको खुलेको छ। आइतबार साँझ चौरसिया सन्तोष र सोनी बस्दै आएको कोठामा पुगेका थिए। त्यसपछि विवाद चर्किँदा कुटपिट भएको र रड प्रहारबाट उनी गम्भीर घाइते भएका थिए।

गम्भीर घाइते चौरसियालाई उपचारका लागि नारायणी अस्पताल लगिएको भए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।

घटनापछि प्रहरीले तत्कालै चारै जनालाई नियन्त्रणमा लिएको छ र उनीहरूलाई हिरासतमा राखेर अनुसन्धान भइरहेको पर्सा प्रहरीले जनाएको छ।

प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतका अनुसार घटनाको कारणबारे विस्तृत अनुसन्धान भइरहेको छ। “विवाद किन र कसरी भयो भन्ने विषयमा अझै स्पष्ट भएको छैन,” उनले बताए।


सम्बन्धित समाचार