१ बैशाख, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले पार्टीभित्रको आन्तरिक कलह र गुटगत राजनीतिलाई लिएर संस्थापन पक्ष (देउवा निकट) का नेताहरूलाई कडा चेतावनी दिनुभएको छ ।
पार्टीको सांगठनिक सुदृढीकरणका लागि ‘जरा अभियान’ को सुरुवात गर्दै थापाले आफ्नो लचकता र विनम्रतालाई कसैले पनि कमजोरीको रूपमा व्याख्या नगर्न सचेत गराउनुभएको हो। पार्टी विधान र अनुशासनभन्दा बाहिर गएर गरिने कुनै पनि गतिविधि स्वीकार्य नहुने उहाँको स्पष्ट अडान छ।
नयाँ वर्ष २०८३ को पहिलो दिन सञ्चारकर्मीहरूसँग कुरा गर्दै सभापति थापाले आफू जिम्मेवारीमा रहेकाले सबैलाई मिलाएर लैजान लचिलो बनेको तर त्यसको अर्थ ‘जस्तोसुकै हस्तक्षेप’ सहनु नभएको बताउनुभयो ।
विशेषगरी पूर्वसभापति शेरबहादुर देउवा निकट नेताहरूका गतिविधिप्रति सङ्केत गर्दै उहाँले भन्नुभयो, ‘जिम्मेवारीमा भएको व्यक्ति विनम्र हुनुपर्छ, यो मैले नेताहरूबाटै सिकेको हुँ, तर मेरो विनम्रतालाई कसैले कमजोरी ठानेर पार्टीमा खिचपिच गर्छ भने त्यो सहेर बसिँदैन। ‘ उहाँले पार्टी कार्यालय बाहिर हुने अनधिकृत र समानान्तर गतिविधिहरू सीमाभन्दा बाहिर गए कडा कदम चाल्ने सङ्केत समेत दिनुभयो।
पार्टीलाई आगामी महाधिवेशन र आम निर्वाचनका लागि तयार पार्नुपर्ने मुख्य दायित्व आफ्नो काँधमा रहेको भन्दै थापाले काम गर्ने वातावरण बनाइदिन सबै नेताहरूलाई आग्रह गर्नुभयो । ‘सक्नेले मलाई सहयोग गर्नुहोला, नसक्नेले डिस्टर्ब नगर्दिनु होला,’ भन्दै उहाँले असन्तुष्ट पक्षलाई संयमित हुन आग्रह गर्नुभयो। प्रतिपक्षको भूमिकालाई प्रभावकारी बनाउन र पार्टीलाई नयाँ उचाइमा पुर्याउन सबैको साथ अनिवार्य रहेको उहाँको जिकिर थियो।
यसैबीच, कांग्रेसको भ्रातृ तथा शुभेच्छुक संस्थाहरूमा देखिएको विवाद र रिक्तताका विषयमा निर्णय लिन बिहीबार पार्टीको कार्यसम्पादन समितिको बैठक बस्दैछ। सो बैठकले पछिल्लो समय देखिएको सांगठनिक अन्योललाई चिर्ने अपेक्षा गरिएको छ ।
सभापति थापाको यो पछिल्लो ‘आक्रामक’ अभिव्यक्तिले कांग्रेसभित्रको शक्ति संघर्ष र आगामी राजनीतिक कार्यदिशामा नयाँ तरङ्ग पैदा गरिदिएको छ।




















