२ बैशाख, काठमाडौं । नेपाली राजनीति र कानुनी वृत्तमा चासोको विषय बनेको पूर्वमन्त्री दीपक खड्काको बन्दी प्रत्यक्षीकरण रिटमाथिको सुनुवाइ आज सर्वोच्च अदालतमा सम्पन्न भएको छ ।
बुधबार न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र शान्तिसिंह थापाको संयुक्त इजलासमा उक्त रिटमाथि घनीभूत बहस भएको हो । लामो समयदेखि प्रतिक्षा गरिएको यो सुनुवाइ सकिएसँगै अब अदालतको फैसला वा आदेशतर्फ सबैको नजर मोडिएको छ ।
काठमाडौँस्थित सर्वोच्च अदालतमा तोकिएको पेसीअनुसार दुवै पक्षका कानुन व्यवसायीहरूको बहसपछि केहीबेर अघि मात्रै इजलासले सुनुवाइ कार्यलाई बिट मारेको हो।
खड्काको तर्फबाट परेको यो निवेदनले कानुनी उपचारको खोजी मात्र नगरेर राजनीतिक वृत्तमा समेत चर्चा पैदा गरेको छ। सर्वोच्चको यो इजलासले अब यस विषयमा कस्तो अन्तिम निर्णय दिनेछ भन्ने विषयलाई निक्कै अर्थपूर्ण रूपमा हेरिएको छ ।




















