Logo

२ बैशाख, काठमाडौं । सम्पत्ति शुद्धीकरणको अभियोगमा हिरासतमा रहेका नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दीपक खड्काको मुद्दामा सर्वोच्च अदालतले गम्भीर चासो देखाएको छ ।

बुधबार न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र शान्तिसिंह थापाको संयुक्त इजलासले खड्कामाथि भइरहेको अनुसन्धानको सम्पूर्ण मिसिल र म्याद थप सम्बन्धी कागजातहरू बिहीबार मध्यान्ह १२ बजेभित्र उपलब्ध गराउन आदेश जारी गरेको हो ।

अदालतले राजस्व अनुसन्धान विभाग र ललितपुर जिल्ला अदालत दुवैलाई उनलाई थुनामा राख्नुपर्ने स्पष्ट कारणसहितको लिखित जवाफ पेस गर्न निर्देशन दिएको छ ।

खड्कालाई गत चैत १५ गते केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरेको थियो । सम्पत्ति शुद्धीकरण विभागबाट सुरु भएको अनुसन्धानको फाइल आन्तरिक राजस्व हुँदै हाल राजस्व अनुसन्धान विभाग पुगेको छ, जसले गत सोमबार मात्रै ललितपुर जिल्ला अदालतबाट तीन दिनको हिरासत अनुमति लिएको थियो ।
सर्वोच्चले जिल्ला अदालतबाट म्याद थप गर्दा खडा गरिएका पर्चा र राजस्वको अनुरोध पत्रसहितका सबै प्रमाणहरू माग गर्दै बिहीबारका लागि नै पेसी तोक्न आदेश दिएको छ ।

यो आदेशसँगै खड्काको बन्दी प्रत्यक्षीकरण रिटमा बिहीबार निर्णायक सुनुवाइ हुने देखिएको छ । सर्वोच्चले भोलिको सुनुवाइ नभएसम्म उनलाई हालकै अवस्थामा राख्न समेत भनेको छ ।

जटिल प्रशासनिक प्रक्रिया र विभागहरूबीच फाइल घुमिरहेको यो प्रकरणमा अदालतको भोलिको आदेशले खड्काको हिरासत बसाइ वा रिहाइबारे अन्तिम फैसला गर्नेछ । हाल उनी सीआईबीकै हिरासतमा रहेर राजस्व अनुसन्धानको प्रक्रिया झेलिरहेका छन् ।


सम्बन्धित समाचार
भर्खरै