Logo

२ बैशाख, काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतका १० वटा विषयगत समितिका सभापति चयनका लागि आगामी वैशाख ४ गते निर्वाचन हुने भएको छ ।

मिनी संसद्को रूपमा चिनिने यी महत्त्वपूर्ण समितिहरूको नेतृत्व चयनका लागि सङ्घीय संसद् सचिवालयले विस्तृत कार्यतालिका सार्वजनिक गरिसकेको छ । संसद्का सचिव हर्कराज राईका अनुसार, निर्वाचन प्रक्रियाको मुख्य चरण बिहीबारबाटै सुरु हुनेछ, जसमा इच्छुक सदस्यहरूले अपराह्न १ देखि ४ बजेसम्म सभापतिका लागि मनोनयन दर्ता गर्न सक्नेछन्।

मनोनयन प्रक्रियामा सम्बन्धित समितिका एक सदस्य प्रस्तावक र अर्का एक सदस्य समर्थक बस्नुपर्ने कानुनी व्यवस्था छ । दर्ता भएका प्रस्तावहरूको सूची बिहीबार नै अपराह्न साढे ४ बजे सार्वजनिक गरिनेछ । त्यसपश्चात्, शुक्रबार दिनको १ बजे बस्ने सम्बन्धित समितिको बैठकमा ती प्रस्तावहरूमाथि छलफल भई निर्णयार्थ प्रस्तुत गरिने कार्यक्रम रहेको छ ।

यदि निर्वाचनमा मतदान गर्नुपर्ने अवस्था आएमा, एकभन्दा बढी समितिमा सदस्य रहेका मन्त्रीहरूले आफ्नो मतदान गर्ने समितिको जानकारी २४ घण्टा अगावै लिखित रूपमा दिनुपर्ने सचिवालयले जनाएको छ ।

हाल सङ्घीय संसद्मा प्रतिनिधिसभाका १०, राष्ट्रियसभाका ४ र २ वटा संयुक्त समितिहरू क्रियाशील छन्  । जसमा कानुन, न्याय तथा मानवअधिकार, सार्वजनिक लेखा, अर्थ, र राज्यव्यवस्था जस्ता शक्तिशाली समितिहरू समावेश छन् ।

लामो समयदेखि समितिको नेतृत्व चयन नहुँदा विधेयकहरूको छलफल र संसदीय निगरानीमा असर परिरहेको सन्दर्भमा यो निर्वाचनलाई निक्कै चासोका साथ हेरिएको छ । विशेषगरी संयुक्त समितिका रूपमा रहेका संसदीय सुनुवाइ समिति र राज्यका निर्देशक सिद्धान्त समितिले पनि यस प्रक्रियापछि नयाँ नेतृत्व पाउनेछन् ।


सम्बन्धित समाचार
भर्खरै