२ वैशाख, भक्तपुर । मध्यपुरथिमीस्थित बोडेमा परम्परागत जिब्रो छेड्ने जात्रा बुधबार भव्य रूपमा सम्पन्न भएको छ।
जात्रामा स्थानीय सुजन बाग श्रेष्ठले चौथोपटक जिब्रो छेडेर प्राचीन परम्परालाई निरन्तरता दिएका छन्। नाइकेहरूले विभिन्न देवगणको पूजा गरेपछि तेलमा डुबाइराखिएको करिब १० इन्च लामो सुइरोले पाँचो गणेशको प्राङ्गणस्थित पाटीमा उनको जिब्रो छेडिएको हो।
चैत मसान्तको दिन बोडे महालक्ष्मी मन्दिर प्राङ्गणमा लिङ्गो उठाइएपछि जिब्रो छेड्ने व्यक्ति निराहार व्रत बसेर यो अनुष्ठान पूरा गर्ने परम्परा रहँदै आएको छ। जिब्रो छेडेपछि सहभागीहरूले चन्द्राकारको ‘भ्वाय्’ (महाद्वीप) बोकेर टोल–टोल परिक्रमा गर्ने परम्परा छ।
भाँगु टोल हुँदै यात्रापछि जिब्रो छेडिएको सुइरो पाँचो गणेश मन्दिरमा निकालेर महालक्ष्मी मन्दिरमा ठोक्ने परम्परासँगै जात्रा सम्पन्न हुन्छ।
धार्मिक विश्वास र किंवदन्तीमा आधारित यो जात्रा नीलबाराही देवगणसँग सम्बन्धित मानिन्छ। स्थानीय कथनअनुसार प्राचीनकालमा बोडे क्षेत्रमा भूत–प्रेत र पिशाचहरूले दुःख दिने गरेपछि तान्त्रिक भीमदत्तले जिब्रो छेडेर दैवी शक्तिको संकेतस्वरूप यस परम्पराको सुरुवात गरेका थिए।


















