Logo

२ बैशाख, काठमाडौं । नेपाल सरकारले डिजिटल नेपालको अवधारणालाई थप सुदृढ बनाउँदै नागरिक एपलाई झनै शक्तिशाली बनाउने प्रक्रिया सुरु गरेको छ ।

अबको केही समयभित्रै नागरिकले आफ्नो जन्मदर्ता, विवाह दर्ता र सम्बन्धविच्छेद जस्ता व्यक्तिगत पञ्जीकरणका प्रमाणपत्रहरू नागरिक एपबाटै प्राप्त गर्न सक्नेछन् ।

सूचना प्रविधि विभागका महानिर्देशक श्रीचन्द्र साहका अनुसार राष्ट्रिय पञ्जीकरणका सम्पूर्ण सूचनाहरूलाई एपको एकीकृत प्रणालीमा आबद्ध गर्ने प्रारम्भिक कार्य सुरु भइसकेको छ । यसले सरकारी सेवा लिनका लागि भौतिक प्रमाणपत्र बोकेर कार्यालय धाउनुपर्ने झन्झटलाई पूर्ण रूपमा अन्त्य गर्ने विश्वास गरिएको छ ।

पञ्जीकरणका विवरण मात्र नभई, नागरिक एपलाई ‘वन-स्टप डिजिटल प्लेटफर्म’ बनाउन अन्य महत्वपूर्ण सेवाहरू पनि थपिने क्रममा छन् ।

निजामती कर्मचारीको व्यक्तिगत विवरण, लोक सेवाको प्रवेशपत्र, र वैदेशिक अध्ययनका लागि आवश्यक ‘नो अब्जेक्सन सर्टिफिकेट’ प्रहरी चारित्रिक प्रमाणपत्र डाउनलोड गर्ने सुविधा त अहिले नै सञ्चालनमा आइसकेको छ, जसले डिजिटल पहुँचलाई थप प्रभावकारी बनाएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री डा। विक्रम तिमिल्सिनाले तोकिएको ४५ दिने कार्ययोजना भन्दा अगावै यी सेवाहरू सञ्चालनमा ल्याउन विभागलाई विशेष निर्देशन दिनुभएको छ ।

चैत १३ गतेको मन्त्रिपरिषद्‌बाट स्वीकृत ‘शासकीय सुधारसम्बन्धी १०० कार्यसूची’ को बुँदा नम्बर ३५ लाई कार्यान्वयन गर्न सरकारले उच्च प्राथमिकता दिएको हो ।

यो प्रविधिको विस्तारले सेवाग्राहीको समय र लागत मात्र बचाउने छैन, बरु सरकारी सेवा प्रवाहलाई पूर्ण रूपमा पारदर्शी, आधुनिक र झन्झटमुक्त बनाउँदै सुशासनको नयाँ नमुना पेश गर्ने अपेक्षा गरिएको छ ।


सम्बन्धित समाचार
भर्खरै