Logo

४ बैशाख, काठमाडौं । सरकारले स्वास्थ्य क्षेत्रमा कार्यरत कर्मचारीहरूको मागलाई सम्बोधन गर्दै अब अस्पतालहरूमा पनि हप्ताको दुई दिन सार्वजनिक बिदा दिने महत्वपूर्ण निर्णय गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै अबदेखि शनिबार र आइतबार अस्पतालका ओपीडी ९बहिरङ्ग० सेवाहरू बन्द रहने जानकारी दिएको हो । स्वास्थ्यकर्मीहरूको मनोबल उच्च राख्न र उनीहरूको हितलाई ध्यानमा राख्दै अन्य सरकारी कर्मचारी सरह नै यो सुविधा उपलब्ध गराइएको मन्त्रालयको भनाइ छ ।

यद्यपि, बिदाका दिनमा पनि बिरामीको जीवनरक्षाका लागि आकस्मिक (इमर्जेन्सी) र अन्तरङ्ग (इन–पेसेन्ट) सेवाहरू भने २४ सै घण्टा सुचारु रहनेछन् । आइतबारका लागि तय गरिएका शल्यक्रिया वा अन्य प्रक्रियाहरूलाई अस्पतालले आन्तरिक व्यवस्थापन मिलाएर सम्पन्न गर्नुपर्ने निर्देशन दिइएको छ । बिदाको समयमा बिरामीले सास्ती खेप्नु नपरोस् भन्नका लागि अस्पतालहरूलाई तयारी अवस्थामा रहन, सम्भव भएसम्मका सेवा दिन र आवश्यक परेमा नजिकैको अर्को अस्पतालमा सहजै ‘रेफर’ गर्ने व्यवस्था मिलाउन मन्त्रालयले आग्रह गरेको छ ।

यो निर्णय स्वास्थ्य क्षेत्रमा क्रियाशील नेपाल चिकित्सक संघ लगायत १४ वटा पेशागत संगठनहरूको चर्को दबाबपछि आएको हो । यसअघि आइतबार ओपीडी खुल्ला राख्ने मन्त्रालयको निर्देशनलाई चिकित्सकहरूले अवज्ञा गर्दै आएका थिए ।

अबदेखि बिदाका दिन उपलब्ध हुने सेवाहरूको विवरण अस्पतालले आफ्नो वेबसाइट र सूचना पाटीमा अनिवार्य राख्नुपर्नेछ । मन्त्रालयले ‘अस्पताल सुधार कार्यविधि, २०८२’ लाई पूर्ण रूपमा कार्यान्वयन गर्दै आगामी दिनमा स्वास्थ्य सेवालाई थप सुदृढ र व्यवस्थित बनाउने प्रतिबद्धता समेत जनाएको छ ।


सम्बन्धित समाचार