७ साउन, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले विद्युत् खरिद बिक्री सम्झौता (पीपीए) भइसकेर पनि निर्धारित समयमा व्यावसायिक उत्पादनमा आउन नसकेका जलविद्युत् आयोजनाहरूको व्यावसायिक उत्पादन सुरु गर्नुपर्ने अन्तिम मिति (आरसीओडी) थप्ने प्रक्रिया औपचारिक रूपमा अगाडि बढाएको छ ।
आयोजनाहरूको भौतिक प्रगति, पीपीएका दायित्व र आरसीओडीको अवस्थालाई आधार मानेर प्राधिकरणले पहिलो पटक स्पष्ट मापदण्डका आधारमा ३२० वटा आयोजनालाई चार समूहमा वर्गीकरण गर्ने नीति ल्याएको छ ।
गत असार ३२ गते बसेको नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको बैठकले जलविद्युत् आयोजनाहरूलाई ‘क’, ‘ख’, ‘ग’ र ‘घ’ गरी चार समूहमा विभाजन गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार हाल ८ हजार २९२ मेगावाट कुल क्षमता भएका ३२० वटा निर्माणाधीन आयोजनामध्ये पहिलो चरणमा समूह ‘क’ र ‘ख’ मा परेका आयोजनाहरूको आरसीओडी म्याद थपको प्रक्रिया अघाइएको हो ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले निजी क्षेत्रलाई अप्ठ्यारोमा पार्नेभन्दा पनि निर्माणाधीन आयोजनाहरूलाई सहजीकरण गर्ने उद्देश्यले सरकारले यो कदम चालेको स्पष्ट पार्नुभएको छ । प्रवर्द्धकहरूसँगको छलफलका क्रममा मन्त्री श्रेष्ठले संस्थागत प्रणालीबाटै निर्णय हुने व्यवस्था गर्न मन्त्रालय प्रतिबद्ध रहेको र निजी क्षेत्रले पनि आफ्नो जिम्मेवारी समयमै पूरा गर्नुपर्नेमा जोड दिनुभयो ।
प्राधिकरणको नयाँ वर्गीकरणअनुसार समूह ‘क’ मा ४ हजार ४९१ मेगावाट क्षमताका १५० वटा र समूह ‘ख’ मा १ हजार ४२० मेगावाट क्षमताका ६८ वटा आयोजना समेटिएका छन् ।
समूह ‘क’ मा आरसीओडी अवधि नसकिएका र सम्पूर्ण आधारभूत दायित्व पूरा गरेका आयोजनाहरू रहेका छन् भने समूह ‘ख’ मा प्राधिकरणको ढिलाइले प्रसारण लाइन नबनेका, काबुबाहिरको परिस्थिति परेका वा २५ प्रतिशतभन्दा बढी भौतिक प्रगति हासिल गरेका आयोजनाहरूलाई राखिएको छ । बाँकी आयोजनाहरू भने समूह ‘ग’ र ‘घ’ मा वर्गीकरण गरिएका छन् ।
छलफलका क्रममा स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इपान) का वरिष्ठ उपाध्यक्ष उत्तम ब्लोनले प्राकृतिक न्यायको सिद्धान्तका आधारमा सबै आयोजनालाई अन्तिम पटक निश्चित सर्तसहित आरसीओडी थप गर्नुपर्ने माग राख्नुभएको छ ।
प्राधिकरणले भने समूह ‘ख’ का आयोजनाहरूको नियमित अनुगमन गर्ने र समूह ग’ मा पर्ने लापरवाह आयोजनाहरूलाई ‘नोटिस अफ डिफल्ट’ जारी गरी चित्तबुझ्दो जवाफ नआएमा सम्झौता रद्दसम्मको प्रक्रिया अघि बढाइने जनाएको छ ।




















