७ साउन,वीरगञ्ज । धनुषाको मिथिला नगरपालिका–६ ढल्केबरस्थित एक उद्योगमा ग्यास लिक भएर आगलागी हुँदा तीन जना कामदार गम्भीर घाइते भएका छन्।
प्रहरीका अनुसार बिहीबार बिहान करिब ७ बजे राजेश अग्रवालले सञ्चालन गरेको ग्रिन बायो फ्युल उद्योग प्रालि (ब्रिकेट उत्पादन गर्ने उद्योग) भित्र कामदार बस्ने कोठामा खाना पकाउने क्रममा ग्यास लिक भई अचानक आगलागी भएको हो।
आगलागीमा बारा प्रसौनी गाउँपालिका–४ खुट्वा प्रसौनी निवासी २३ वर्षीय सोमराती अन्सारी, २२ वर्षीय अब्दुल अन्सारी र २५ वर्षीय धर्मराज महत्तो गम्भीर घाइते भएका छन्। उनीहरूको शरीरका विभिन्न भाग जलेको प्रहरीले जनाएको छ।
घाइते तीनै जनाको प्रारम्भिक उपचार प्रादेशिक अस्पताल जनकपुरमा गरिएको थियो। अवस्था गम्भीर रहेकाले थप उपचारका लागि उनीहरूलाई बर्न अस्पताल, कीर्तिपुर रिफर गरिएको छ।
घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय ढल्केबरबाट प्रहरी निरीक्षकको कमाण्डमा प्रहरी टोली घटनास्थलमा खटिएको थियो। आगो नियन्त्रणमा आइसकेको प्रहरीले जनाएको छ।
प्रहरीले आगलागीको कारण र घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।




















