७ साउन,वीरगञ्ज । भ्रष्टाचारसम्बन्धी सबैभन्दा धेरै उजुरी पर्ने प्रदेशका रूपमा मधेश प्रदेश देखिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासका अनुसार आर्थिक वर्ष २०८२/०८३ मा मधेश प्रदेशबाट कुल ३ हजार ७ सय ३९ वटा भ्रष्टाचारसम्बन्धी उजुरी दर्ता भएका छन्।
आयोगको तथ्यांकअनुसार धनुषा सबैभन्दा धेरै उजुरी दर्ता हुने जिल्ला बनेको छ। आर्थिक वर्ष २०८२/०८३ मा धनुषाबाट १ हजार १ सय ९५, महोत्तरीबाट ७ सय ८० र सिरहाबाट ६ सय ७७ वटा उजुरी दर्ता भएका छन्। यता, रौतहटमा भने सबैभन्दा कम ८ वटा मात्रै उजुरी परेको आयोगले जनाएको छ।
धनुषाका स्थानीय तहको विवरणअनुसार विदेह नगरपालिका सबैभन्दा धेरै उजुरी पर्ने स्थानीय तह बनेको छ, जहाँ १ सय २८ वटा उजुरी दर्ता भएका छन्। त्यसपछि जनकपुरधाम उपमहानगरपालिकामा १ सय २४ वटा उजुरी दर्ता भएको तथ्यांकले देखाएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासका सूचना अधिकारी प्रकाश पोखरेलका अनुसार सार्वजनिक क्षेत्रमा हुने भ्रष्टाचार, सार्वजनिक पद तथा अधिकारको दुरुपयोग, साथै सरकारी अनुगमन र कारबाही प्रभावकारी हुन नसक्दा भ्रष्टाचारका उजुरी बढिरहेका छन्।
नागरिक समाजका अगुवाहरूले सार्वजनिक क्षेत्रमा भ्रष्टाचार नियन्त्रणमा अपेक्षित प्रगति हुन नसकेको, सरकारले पनि प्रभावकारी रूपमा ध्यान नदिएको तथा अदालतका निर्णयको समेत प्रभावकारी कार्यान्वयन नहुँदा भ्रष्टाचारमा दण्डहीनता बढ्दै गएको बताएका छन्।
आयोगको तथ्यांकले मधेश प्रदेशमा सुशासनको चुनौती अझै गम्भीर रहेको र सार्वजनिक निकायमा पारदर्शिता तथा जवाफदेहिता मजबुत बनाउन प्रभावकारी कदम आवश्यक रहेको संकेत गरेको छ।




















