७ साउन, काठमाडौं । पन्छीपालक किसानलाई लामो समयदेखि चिन्तित बनाउँदै आएको बर्डफ्लुको प्रकोप अब पूर्ण रूपमा नियन्त्रणमा आएको छ ।
पशु सेवा विभागका अनुसार चालु आर्थिक वर्षको साउन १ गतायता देशको कुनै पनि भूभागमा बर्डफ्लुको नयाँ संक्रमण पुष्टि भएको छैन । विभागका महानिर्देशक डा। उमेश दाहालले कडा निगरानी र सतर्कताका कारण यो रोग अहिले पूर्णरूपमा नियन्त्रित अवस्थामा रहेको जानकारी दिनुभएको छ ।
विगतमा ११ वटा जिल्लामा फैलिएको यस सङ्क्रमणको असर काठमाडौं उपत्यकाका तीन जिल्ला र काभ्रेमा सबैभन्दा बढी देखिएको थियो । उपत्यका र काभ्रेका कुल ११९ स्थानमा सङ्क्रमण फैलिँदा काठमाडौंमा ३२, भक्तपुरमा ४५, काभ्रेपलाञ्चोकमा २७ र ललितपुर (सदर चिडियाखानासहित) मा १५ ठाउँमा सङ्क्रमण पुष्टि भएको थियो । यसबाट कमर्सियल लेयर्स कुखुरालगायत ब्रोइलर, स्थानीय कुखुरा, हाँस, टर्की र कालिजसमेत ठूलो मात्रामा प्रभावित भएका थिए ।
रोग थप फैलिन नदिन र जोखिम न्यूनीकरण गर्न सरकारले कडा कदम चालेको थियो । यस क्रममा देशभरिबाट ८ लाख ३५ हजार ५६३ वटा पन्छी, ११ लाख ६५ हजार ६६३ वटा अण्डा र २ लाख ४५ हजार ३५ किलो दाना पूर्ण रूपमा नष्ट गरिएको विभागका वरिष्ठ पशु चिकित्सक डा. मुकुल उपाध्यायले जानकारी दिनुभएको छ। सरकारको यो तदारुकता र प्रयोगशाला परीक्षणको तिब्रताले गर्दा रोग नियन्त्रण गर्न सफल भएको विभागको ठहर छ ।
सङ्कटको समयमा मारमा परेका किसानहरूलाई राहत दिन सरकारले राहत तथा क्षतिपूर्तिको व्यवस्थासमेत प्रभावकारी रूपमा कार्यान्वयन गरेको छ । विभागका अनुसार ५२ करोड रुपैयाँको बजेट व्यवस्थापन गरी हालसम्म प्रभावित १०४ जना कृषक तथा फर्महरूलाई ५० करोड ७१ लाख १५ हजार रुपैयाँ क्षतिपूर्तिबापतको रकम वितरण गरिसकिएको छ ।
बर्डफ्लुको जोखिम टारेसँगै अहिले बजारमा कुखुराको मासु र अण्डाको खपत पुनः बढ्न थालेको छ भने किसानहरूले पनि आफ्नो उत्पादनको उचित मूल्य पाउन थालेको पशु सेवा विभागले जनाएको छ ।




















