Logo

७ साउन, काठमाडौं । अविरल वर्षाका कारण देशका विभिन्न भागमा गएको पहिरो, बाढी र सडकमा जमेको हिलोले जनजीवन प्रभावित बनेको छ ।

नेपाल प्रहरीले बिहान सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार खराब मौसम र प्राकृतिक प्रकोपका कारण देशका सात जिल्लाका प्रमुख सडकहरू पूर्ण रूपमा अवरुद्ध भएका छन् भने जोखिमयुक्त केही सडकमा रात्रिकालीन समयमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ ।

यात्रुहरूको सुरक्षालाई मध्यनजर गर्दै प्रहरीले काभ्रेपलाञ्चोक र सिन्धुली जोड्ने सामरिक महत्त्वको बिपी राजमार्ग को खुर्कोट-नेपालथोक–कटुन्जेबेँसी सडकखण्डमा बेलुका ६ बजेदेखि बिहान ४ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाएको छ ।

त्यस्तै, वर्षायामको उच्च जोखिमलाई ध्यानमा राख्दै कान्ति लोकपथ मा पनि बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म गाडी चलाउन पाइने छैन । यी दुवै सडकखण्डमा अर्को सूचना जारी नभएसम्म यो नियम लागू हुनेछ ।

यता, लगातारको वर्षासँगै आएको विपद्का कारण विभिन्न जिल्लाका सडकहरू पूर्ण रूपमा ठप्प भएका छन् ।  इलाम नगरपालिका–९ राजदुवालीस्थित मेची राजमार्ग मा अत्यधिक हिलो जमेपछि यातायात ठप्प भएको छ । त्यसैगरी, सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकास्थित अरनिको राजमार्ग मा पहिरो खस्दा आवतजावत पूर्ण रूपमा बन्द भएको छ भने बागलुङको जैमिनी नगरपालिकास्थित कालीगण्डकी करिडोर मा पनि पहिरोले सडक अवरुद्ध बनाएको छ ।

प्रकोपको चपेटामा परेका अन्य क्षेत्रहरूमा दोलखाको तामाकोशी गाउँपालिकास्थित लामाबगर–रामेछाप सडकखण्ड रहेको छ, जहाँ तामाकोशी खोलाले सडक नै कटान गरेको छ। यसैगरी, मुगुको छायानाथ रारा नगरपालिकास्थित नाग्म–गमगडी सडकखण्ड मा पनि पिना खोला क्षेत्रमा पहिरो गएपछि यातायात सेवा पूर्ण रूपमा ठप्प बनेको प्रहरीले जनाएको छ । निरन्तरको वर्षाका कारण अवरुद्ध सडकहरू खुलाउन र सम्भावित जोखिम टार्न सुरक्षाकर्मीहरू खटिएका छन् ।


सम्बन्धित समाचार