Logo

७ साउन, काठमाडौँ । पूर्वी नेपालका दुई फरक जिल्लामा घटेका दुई छुट्टाछुट्टै दुःखीद घटनामा दुई महिलाको ज्यान गएको छ । तेह्रथुममा खुकुरी प्रहारबाट एक महिलाको हत्या भएको छ भने मोरङमा करेन्ट लागेर अर्की एक महिलाको मृत्यु भएको छ ।

तेह्रथुमको आठराई गाउँपालिका–६, सिमखर्कमा गएराति खुकुरी प्रहार गरी ५१ वर्षीया रूपा लिम्बूको हत्या गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय तेह्रथुमका अनुसार राति करिब ११ बजे सोही स्थानका ३८ वर्षीय कृष्णबहादुर लिम्बूले रूपाको घाँटीमा खुकुरी प्रहार गरेका थिए । खुकुरी प्रहारबाट गम्भीर घाइते भएकी रूपाको घटनास्थलमै मृत्यु भएको हो ।

घटनालगत्तै खुकुरी प्रहार गर्ने कृष्णबहादुरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । हत्याको स्पष्ट कारण अझै खुल्न नसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसैबिच, मोरङको उर्लाबारी नगरपालिका–४, खुर्सानीबारीमा करेन्ट लागेर एक ६५ वर्षीया महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय पवित्रा बास्तोला रहेकी छन् ।

साँझ करिब ६:१५ बजे आफ्नै घरमा रहेको विद्युतीय घाँस काट्ने मेसिन चलाउने क्रममा उनलाई अचानक करेन्ट लागेको थियो । करेन्ट लागेर गम्भीर घाइते भएकी उनलाई तत्काल उपचारका लागि मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर मङ्गलबारे पुर्‍याइएकोमा उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।


सम्बन्धित समाचार
भर्खरै