Logo

६ साउन माडी – नेपाली राष्ट्रिय शिक्षक संगठन माडी नगरसमितिको ७औँ नगर परिषद् आज माडी क्याम्पस, बसन्तपुरमा सम्पन्न भएको छ। संगठनका अध्यक्ष शिवप्रसाद पाठकको अध्यक्षतामा सम्पन्न परिषद्ले संगठनलाई थप सुदृढ, सक्रिय र प्रभावकारी बनाउने विषयमा जोड दिएको छ।

कार्यक्रममा उपाध्यक्ष तोयनाथ अधिकारीले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने सचिव दिनेशमणि शर्माले कार्यक्रम सञ्चालन गरेका थिए। अध्यक्ष पाठकले संगठनात्मक तथा आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै नगरसमितिले वर्षभरि गरेका गतिविधि, उपलब्धि र आगामी कार्ययोजनाबारे जानकारी गराएका थिए।

प्रमुख अतिथि तथा राष्ट्रिय महाधिवेशन प्रतिनिधि रामप्रसाद भण्डारीले शिक्षक संगठन शिक्षकहरूको साझा शक्ति भएकाले सबै शिक्षक संगठनप्रति प्रतिबद्ध र एकताबद्ध हुनुपर्ने बताए। उनले संगठनले शिक्षकका पेशागत हकहितको संरक्षण, शैक्षिक गुणस्तर अभिवृद्धि तथा शिक्षकका साझा मुद्दामा प्रभावकारी भूमिका खेल्नुपर्नेमा जोड दिए। संगठन बलियो भए मात्रै शिक्षकको आवाज सशक्त रूपमा स्थापित हुने भएकाले सबै शिक्षकलाई संगठनको अभियानमा सक्रिय सहभागी हुन उनले आग्रह गरे।

विशिष्ट अतिथि तथा जिल्ला सचिवालय सदस्य दिपनाथ आचार्य, सल्लाहकार संयोजक रामबहादुर जिसी तथा पूर्व जिल्ला सचिवालय सदस्य भविश्वर ढकालले पनि संगठनात्मक एकता, शिक्षकको पेशागत मर्यादा र गुणस्तरीय शिक्षाको विकासका लागि शिक्षकहरूबीच सहकार्य र सक्रियता आवश्यक रहेको धारणा व्यक्त गरेका थिए।

परिषद्मा समसामयिक शैक्षिक तथा सांगठनिक विषयमा अन्तरक्रिया समेत गरिएको थियो। कार्यक्रमका वक्ताहरूले साउन १० गते हुने नेपाली राष्ट्रिय शिक्षक संगठनको २५औँ जिल्ला परिषद्मा माडीबाट उत्साहजनक सहभागिता जनाउन सबै शिक्षकलाई आग्रह गरेका थिए।

परिषद्मा सहभागी शिक्षकहरूले संगठनलाई थप सशक्त बनाउँदै शिक्षकका हकहित, शैक्षिक सुधार र संगठनात्मक एकतालाई प्राथमिकताका साथ अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका थिए।


सम्बन्धित समाचार