Logo

 ६ साउन,काठमाडौं ।  भारतमा निट (NEET) परीक्षामा भएको भनिएको अनियमितताको विरोधमा आन्दोलन थप चर्किएको छ। कक्रोच जनता पार्टी (सीजेपी) र विद्यार्थी संगठनहरूले राजधानी नयाँ दिल्लीस्थित जन्तरमन्तरमा वर्षाका बाबजुद प्रदर्शन जारी राखेका छन्।

प्रदर्शनकारीहरूले शैक्षिक क्षेत्रमा देखिएको अनियमितताको नैतिक जिम्मेवारी शिक्षामन्त्री धर्मेन्द्र प्रधानले लिनुपर्ने भन्दै उहाँको राजीनामा माग गरेका छन्।

सोमबार सीजेपीको आह्वानमा हजारौँ प्रदर्शनकारीले संसद् भवनतर्फ मार्च गर्ने प्रयास गरेका थिए। त्यसको भोलिपल्ट कांग्रेसले पनि आन्दोलनलाई समर्थन गर्दै प्रधानमन्त्रीको सरकारी निवासअगाडि धर्ना दिएको थियो।

धर्नामा सहभागी कांग्रेस नेता राहुल गान्धी, प्रियङ्का गान्धी, समाजवादी पार्टीका अध्यक्ष अखिलेश यादवलगायतका नेता तथा कार्यकर्तालाई दिल्ली प्रहरीले नियन्त्रणमा लिएर केही घण्टापछि रिहा गरेको थियो।

विद्यार्थीमाथि भएको लाठीचार्ज तथा विपक्षी नेताहरूको पक्राउको विरोधमा कांग्रेसले केरल, जम्मु–कश्मीर, असमलगायत विभिन्न राज्यमा पनि प्रदर्शन गरेको छ।

आज लोकसभामा विपक्षी दलका नेता राहुल गान्धीको नेतृत्वमा कांग्रेस सांसदहरूले प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह र शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गरेका छन्।

यता शिक्षामन्त्री धर्मेन्द्र प्रधानले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत तथा लोकसभामा सम्बोधन गर्दै कांग्रेस र राहुल गान्धीले विद्यार्थी आन्दोलनलाई राजनीतिक उद्देश्यका लागि प्रयोग गरिरहेको आरोप लगाउनुभएको छ।

आन्दोलन संसद् भवनतर्फ अघि बढेपछि सुरक्षा व्यवस्थालाई मध्यनजर गर्दै दिल्ली मेट्रो रेल कर्पोरेशनले मध्य दिल्लीका १६ वटा व्यस्त मेट्रो स्टेशन अस्थायी रूपमा बन्द गरेको छ। स्टेशनका प्रवेशद्वार बन्द हुँदा हजारौँ यात्रु, कर्मचारी र विद्यार्थी प्रभावित भएका छन्।

परिस्थिति नियन्त्रणमा राख्न भारतको गृह मन्त्रालयले केन्द्रीय आरक्षित प्रहरी बल (सीआरपीएफ) का थप दुई हजार जवानलाई पश्चिम बंगालबाट हवाईमार्गमार्फत दिल्लीमा परिचालन गरेको छ।

यसैबीच आन्दोलनकारी पक्षका सीजेपीका प्रवक्ता सौरभ दासले सरकारसँग मन्त्रीहरूको कार्यालयमा नभई जन्तरमन्तर वा अन्य तटस्थ स्थानमा वार्ता गर्न आफूहरू तयार रहेको बताएका छन्।


सम्बन्धित समाचार