Logo

४ साउन, काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले प्रधानमन्त्री वालेन्द्र शाहलाई दम्भ र अहंकारको राजनीति त्याग्न कडा चेतावनी दिएका छन् ।

बीपी कोइराला स्मृति दिवसको अवसरमा बुधबार काठमाडौंमा आयोजित संस्थापनइतर समूहको भेलालाई सम्बोधन गर्दै उनले एक्लै हिँड्ने अहंकार नगर्न प्रधानमन्त्रीलाई आग्रह गरेका हुन् ।

जेन–जी आन्दोलनका क्रममा कांग्रेस पार्टी कार्यालय तथा नेताका घरहरूमा आगजनी, तोडफोड र लुटपाट मच्चाइए पनि त्यसले कांग्रेसलाई कमजोर नभई झनै ऊर्जावान् र सचेत बनाएको सिटौलाको भनाइ थियो । विशेष महाधिवेशनको नाममा पार्टीलाई छिन्नभिन्न पार्न खोजिएको टिप्पणी गर्दै उनले गत वर्षको भदौ २४ को रापताप अझै ननिभिसकेकाले मुलुकमा थप राजनीतिक जागरणको आवश्यकता औँल्याए ।

बीपी कोइरालाको विचारलाई साक्षी राख्दै प्रधानमन्त्रीलाई सचेत गराउँदै नेता सिटौलाले भने, ‘तपाईँहरू धेरै दम्भ र अहङ्कार लिएर नहिँड्नुस्, एक्लै हिँड्ने दम्भ नगर्नुस्, ठक्कर लाग्ला ।

ठक्कर लागेपछि उठाउने कोही हुँदैन, त्यस्तै परेमा तपाईँलाई उठाउन फेरि हामी नै आउनुपर्ला, किनकि हामीमा नेपाली कांग्रेसको राजनीतिक रगत र संस्कार छ।’ पार्टीलाई एकताबद्ध हुन नदिन विभिन्न चलखेल भइरहेको आरोप लगाउँदै उनले देश गम्भीर सङ्कटमा रहेकाले यसका लागि सबै एकजुट भएर लड्नुपर्नेमा जोड दिए ।


सम्बन्धित समाचार