६ साउन,काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर पक्षले राष्ट्रिय भेला आयोजना गर्ने घोषणा गरेको छ।
बीपी कोइरालाको ४४औँ स्मृति दिवसका अवसरमा बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा नेता प्रकाशमान सिंहले साउन २९ गते काठमाडौंमा राष्ट्रिय भेला आयोजना गरिने घोषणा गरेका हुन्।
नेता सिंहका अनुसार संस्थापन इतर पक्षले यसअघि नै सातै प्रदेशमा भेला सम्पन्न गरिसकेको छ। अब राष्ट्रिय भेलामार्फत आगामी राजनीतिक रणनीति तय गरिने उनले संकेत गरे।
‘हामीले सातै प्रदेशमा भेला गरिसकेका छौं। यो भेलापछि हामी आफ्नो बाटो लिन्छौं,’ सिंहले भने।
कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाली कांग्रेसको १५औँ महाधिवेशन एकतामूलक वातावरणमा सम्पन्न हुनुपर्नेमा आफूहरू प्रतिबद्ध रहेको पनि बताए।
संस्थापन इतर पक्षको राष्ट्रिय भेलालाई आगामी महाधिवेशनको तयारी तथा पार्टीभित्रको शक्ति सन्तुलनसँग जोडेर हेरिएको छ।




















