६ साउन,वीरगञ्ज । नेपाल विद्यार्थी संघ (नेविसंघ) का केन्द्रीय सदस्य नेजामुद्दिन अन्सारीलाई बारा प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रतिनिधिसभा सदस्य तथा बारा निर्वाचन क्षेत्र नम्बर–३ का सांसद अरविन्द साहलाई कालो मसी दल्ने चेतावनी दिएको आरोपमा अन्सारीलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
अन्सारीले एक दिनअघि सामाजिक सञ्जालमार्फत ‘ओपन च्यालेन्ज’ दिँदै सांसद साहलाई जहाँ भेटे पनि कालो मसी दल्ने चेतावनी दिएका थिए। उनले सांसद साहले निर्वाचनअघि सार्वजनिक गरेको घोषणापत्रअनुसार १ प्रतिशत पनि काम नगरेको आरोपसमेत लगाएका थिए।
सामाजिक सञ्जालमा सार्वजनिक भएको उक्त अभिव्यक्तिपछि प्रहरीले अन्सारीलाई नियन्त्रणमा लिई घटनाबारे आवश्यक अनुसन्धान सुरु गरेको जनाएको छ।
प्रहरी स्रोतका अनुसार घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको छ।




















