Logo

४ साउन, काठमाडौं । नेपाली कांग्रेसका नेता मोहन बस्नेतले महामन्त्री गगन थापाको नेतृत्वप्रति कडा आक्रोश पोख्दै अब उनीसँगै सति जान नसकिने बताएका छन् ।

काठमाडौंमा आयोजित इतर पक्षको भेलालाई सम्बोधन गर्दै नेता बस्नेतले गगन थापाको नेतृत्वमा भएको विशेष महाधिवेशन प्रायोजित रहेको दाबी गरे । पार्टी बलियो नभए मुलुक दुर्घटनामा पर्ने चेतावनी दिँदै उनले भने, ‘प्रदेश भेला गरिसक्यौँ, अब केन्द्रीय भेला राख्नुपर्छ। पार्टी फुटाउने होइन, अर्को पार्टी बनाउने हो, गगन थापाको नेतृत्वमा लोकतान्त्रिक शक्तिलाई सति जान दिइनेछैन ।’

गगनकै नेतृत्वमा निर्वाचनमा गएका कारण पार्टी खरानी भएको आरोप लगाउँदै बस्नेतले यदि उनी काठमाडौं–४ बाट मात्रै चुनाव लडेका भए जमानत समेत जफत हुने जिकिर गरे । आगामी भदौ २ गतेबाट गगन नेतृत्वको कांग्रेस महाधिवेशनमा होमिन लागेको सन्दर्भ उल्लेख गर्दै उनले अब ढिला नगरी बिपी कोइरालाले स्थापना गरेको मौलिक कांग्रेस बचाउनतर्फ लाग्नुपर्ने बताए ।

पार्टीभित्र सहमतिको कुनै सम्भावना नरहेको जिकिर गर्दै नेता बस्नेतले नयाँ पार्टी निर्माणका लागि अब नेतृत्वले पनि खुट्टा कमाउन नहुने स्पष्ट पारे ।


सम्बन्धित समाचार