Logo

७ साउन, काठमाडौँ । विभिन्न व्यावसायिक सङ्घसंस्था तथा उद्यमीहरूसँग निरन्तर संवादमा जुटिरहेका प्रधानमन्त्री बालेन शाहले आज चिया उद्योगीहरूसँग भेटवार्ता गर्दै छन्। भेटघाटमा नेपाली चिया क्षेत्रले भोग्दै आएका विद्यमान समस्या, भारतीय बजारको अवरोध र यसका समाधानका उपायहरूबारे गहन छलफल हुने प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ ।

प्रधानमन्त्री शाहले आज अर्गानिक एसोसिएसन अफ नेपाल, गोर्खा टी-स्टेट, हिमालयन साङ्ग्रिला चिया उद्योग, अन्नपूर्ण अर्गानिक एग्रो इन्डस्ट्रिजलगायतका चिया उत्पादक तथा निर्यातकर्ता संस्थाका अध्यक्ष एवं प्रतिनिधिहरूलाई छलफलका लागि बोलाएका छन् ।

नेपालमा उत्पादित अधिकांश चिया भारत हुँदै तेस्रो मुलुकतर्फ निर्यात हुने भएकाले भारतीय नीति, भन्सार प्रक्रिया वा त्यहाँको बजार अवस्थाले नेपाली चिया क्षेत्रलाई प्रत्यक्ष प्रभावित पार्दै आएको छ।

हालै मात्र भारतले लागू गरेको नयाँ गुणस्तर परीक्षण प्रणालीका कारण नेपाली चियाको निर्यात करिब दुई महिनासम्म ठप्प भएको थियो। यसका कारण पूर्वका इलाम र झापाका दर्जनौँ चिया उद्योगहरू बन्द हुनुका साथै हजारौँ श्रमिकहरू प्रभावित भएका थिए । आजको भेटमा उद्योगीहरूले यो समस्याको दीर्घकालीन समाधानका लागि कूटनीतिक पहल गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराउने तयारी गरेका छन् ।

प्रधानमन्त्री शाहले अघिल्लो दिन मात्रै हस्तकला महासङ्घका प्रतिनिधिहरूसँग छलफल गरेका थिए। त्यसअघि उनले नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ, नेपाल चेम्बर अफ कमर्स, निर्माण व्यवसायी महासङ्घ, फुटवेयर एसोसिएसन, सेयर लगानीकर्ता तथा तयारी पोसाक उद्योग सङ्घका प्रतिनिधिहरूसँग पनि शृङ्खलाबद्ध भेटवार्ता गरिसकेका छन् ।

यद्यपि, प्रधानमन्त्री शाहले निजी क्षेत्रका उद्यमीहरूसँग गरिरहेका यी भेटघाटहरूमा अर्थमन्त्री तथा अन्य सम्बन्धित विषयगत मन्त्रीहरूलाई भने सहभागी गराएका छैनन्। प्रधानमन्त्रीले सिधै उद्योगी-व्यवसायीका कुरा सुनेर समस्या समाधानको मार्गचित्र बनाउन खोजेको बताइएको छ ।


सम्बन्धित समाचार