Logo

४ बैशाख, काठमाडौं । संघीय संसद्अन्तर्गतका १२ वटा संसदीय समितिहरूले नयाँ नेतृत्व पाएसँगै संसदीय कामकारबाहीले पूर्णता पाएको छ ।

शुक्रबार सम्पन्न नेतृत्व चयन प्रक्रियामा १० वटा समितिमा सर्वसम्मत रूपमा सभापति छानिएका छन् भने बाँकी दुई वटा समितिमा निर्वाचनमार्फत नेतृत्वको टुंगो लागेको हो । यसपटकको नेतृत्व चयनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को स्पष्ट वर्चस्व देखिएको छ, जसले १२ मध्ये ११ वटा समितिको सभापति आफ्नो पोल्टामा पार्न सफल भएको छ ।

संसदीय अभ्यासमा महत्त्वपूर्ण मानिने राज्य व्यवस्था तथा सुशासन समितिमा हरि ढकाल, अर्थ समितिमा कृष्णहरि बुढाथोकी र कानुन न्याय तथा मानवअधिकार समितिमा समीक्षा बास्कोटा सर्वसम्मत निर्वाचित भएका छन् । त्यस्तै, कृषि समितिमा अशोककुमार चौधरी, पूर्वाधार विकासमा आशिष गजुरेल, महिला तथा सामाजिक मामिलामा आकृति अवस्थी, संसदीय सुनुवाइमा बोधनारायण श्रेष्ठ, उद्योग समितिमा रहबर अन्सारी र अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा सुम्निमा उदास पनि निर्विरोध चयन भएका छन् ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका भरत खड्का भने रास्वपाको समेत समर्थनमा सार्वजनिक लेखा समितिको सभापतिमा सर्वसम्मत निर्वाचित भएका हुन् ।

बहुमतका आधारमा भएको निर्वाचनमा पनि रास्वपाकै उम्मेदवारहरू विजयी भएका छन् । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा एमालेका गुरुप्रसाद बराललाई पराजित गर्दै रास्वपाकी ओजस्वी शेरचन सभापति बनिन् ।

त्यसैगरी, राज्यका निर्देशक सिद्धान्त अनुगमन समितिमा नेकपाकी मदनकुमारी शाहलाई हराउँदै रास्वपाका गणेश कार्की निर्वाचित भए । सदनमा रास्वपाको स्पष्ट बहुमत रहेकाले निर्वाचन भएका दुवै समितिमा विपक्षी उम्मेदवारहरू पराजित हुन पुगेका हुन् ।


सम्बन्धित समाचार