Logo

५ वैशाख,वीरगञ्ज । मध्यपूर्वमा जारी द्वन्द्वको प्रभाव नेपालसम्म आइपुग्दा डिजेलको मूल्य निरन्तर बढिरहेको छ, जसले किसानहरूलाई गम्भीर आर्थिक दबाबमा पारेको छ। पछिल्लो एक महिनामै डिजेलको मूल्य झन्डै दोब्बर भएपछि सिँचाइ र खेत जोत्ने खर्च धान्न किसानहरूलाई मुस्किल भएको गुनासो बढेको छ।

हाल जिल्लामा डिजेलको मूल्य प्रतिलिटर १३६ रुपैयाँ पुगेको छ। चन्द्रनगर गाउँपालिका–२ बडकुर्बाका किसान रामजोबित महतोका अनुसार हाइब्रिड मकैमा घोगा लागेकाले महँगो डिजेल खर्च गरेर पनि सिँचाइ गर्नुपर्ने बाध्यता छ। उनले १५ कठ्ठामा मकै खेती गर्दै आएका छन्।

“डिजेल जति महँगो भए पनि बाली जोगाउन पम्पसेट चलाउनै पर्छ,” उनले भने, “तर किसानले उत्पादन गरेको मकै र तरकारीको मूल्य भने नबढ्नु अन्याय हो।”

मधेश क्षेत्रमा बढ्दो गर्मीका कारण मकै र तरकारी सुक्न नदिन बारम्बार सिँचाइ गर्नुपर्ने अवस्था छ, जसले खर्च झन् बढाएको छ।

डिजेलको मूल्यवृद्धिले ट्याक्टर प्रयोगको लागत पनि उल्लेख्य रूपमा बढाएको छ। ईश्वरपुर नगरपालिका–१० बेलाका किसान लक्ष्मीनारायण चौधरीका अनुसार अहिले ट्याक्टरले एक घण्टा जोतेको २ हजार ५०० रुपैयाँसम्म लिन थालेको छ, जुन पहिले १ हजार ४०० देखि १ हजार ६०० रुपैयाँसम्म थियो।

“इन्धनको मूल्य बढ्दा किसानलाई ठूलो असर परेको छ,” उनले भने, “तर उत्पादनको मूल्य उस्तै रहँदा झन् समस्या भएको छ।”

जिल्लामा नेपाल विद्युत प्राधिकरण र स्थानीय तहले कृषि विद्युतीकरण विस्तार गरे पनि धेरै ठाउँमा अझै बिजुली नपुगेकाले किसानहरू पम्पसेटकै भरमा सिँचाइ गर्न बाध्य छन्।


सम्बन्धित समाचार