Logo

५ वैशाख,काठमाडौं । काठमाडौँ महानगरपालिका ले ऐतिहासिक असन क्षेत्रलाई आजदेखि हरेक शनिबार ‘भेहिकल फ्री जोन’ घोषणा गरेको छ। महानगरकी कार्यवाहक प्रमुख सुनिता डङ्गोल ले कार्यक्रमको औपचारिक उद्घाटन गरेकी हुन्।

अब हरेक शनिबार कःमिलाछी (कमलाक्षी) चोकदेखि असनसम्म, भोटाहिटीदेखि असनसम्म र महाबौद्धदेखि असनसम्मको क्षेत्रमा सवारी साधन प्रवेश पूर्ण रूपमा निषेध गरिएको छ।

महानगरका अनुसार शनिबार असन क्षेत्रमा सामाजिक–सांस्कृतिक गतिविधि, रैथाने ज्ञान तथा सीप प्रदर्शनी, साथै गायन, वादन र नृत्यजस्ता कार्यक्रम सञ्चालन गरिनेछ।

नयाँ व्यवस्था अनुसार जमलतर्फ कःमिलाछी–सिंहढोका मार्ग, भोटाहिटी–कलशढोका मार्ग, वीर अस्पताल–महाबौद्ध स्तूप मार्ग र वटु गणेश–भोँसीकोशी गणेश मन्दिर हुँदै महाबौद्ध जाने सडकहरूमा सवारी सञ्चालन रोकिएको छ।

त्यसैगरी इन्द्रचोक, मच्छिन्द्र बहाल, मांस गल्ली, गणेश मन्दिर–पिलांतु गल्ली, न्हकेटलाबाट असन र ज्याठा अन्नपूर्ण स्कुल–भमुलु गल्लीतर्फ पनि सवारी प्रवेश निषेध गरिएको छ।

शनिबार असन आउने आगन्तुकहरूले धरहरा भूमिगत पार्किङ, जमल बहाल, दरबार हाईस्कुल लगायत तोकिएका पार्किङ क्षेत्रमा सवारी राखी पैदल यात्रा गरेर असन प्रवेश गर्नुपर्ने महानगरले जनाएको छ।

महानगरले यो कदमले पुरानो सहरको पैदलमैत्री वातावरण विस्तार हुनुका साथै सांस्कृतिक गतिविधि प्रवर्द्धन हुने विश्वास व्यक्त गरेको छ।


सम्बन्धित समाचार
भर्खरै